site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुर बोल्ट्सको प्रशिक्षकमा चन्द्रपाल

काठमाडौं । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएल)मा टिमको दबदबालाई निरन्तरता दिने अपेक्षा बोल्ट्स परिवारले लिएको छ ।

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजारभन्दा धेरै रन बनाएका छन् ।

उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेको अनुभव छ । उनले खेलाडीका रूपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए ।

सन् २०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टिम जमैका तलवाहजको प्रशिक्षक बनेका थिए । सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टिमको पनि प्रशिक्षक बने ।

“...खेलका महान् दिग्गजका रूपमा उहाँ (चन्द्रपाल)ले नयाँ विचार, रणनीति र दृष्टिकोण ल्याई बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ,” चन्द्रपाललाई सार्वजनिक गर्ने क्रममा जनकपुरले भनेको छ ।

यस्तै, गत वर्ष एनपीएलको पहिलो संस्करणमा टिमलाई च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई जनकपुरले धन्यवाद दिएको छ । दासानायके हाल अमेरिकाको राष्ट्रिय टिमका प्रशिक्षक छन् ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्