काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको खेललाई एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ भनिन्छ । ‘एल क्लासिको’ अर्थात् स्पेनका दुई क्लब बार्सिलोना र रियाल मड्रिडबीचको चर्को प्रतिद्वन्दीलाई परिभाषित गर्ने शब्द । स्पेनिस शब्द ‘क्लासिको’ले ठ्याक्कै भन्नुपर्दा ‘पुरानो’ भन्ने जनाउँछ । स्पेनका यी दुई टिमबीच करिब शताब्दी लामो प्रतिद्वन्दीका कारण यसले यो उपनाम पाएको हो ।
एसोसिएट क्रिकेटमा नेपाल र यूएईबीचको प्रतिद्वन्दिता करिब अढाई दशकमात्रै लामो छ । तर, छोटो समय पनि यी दुईको खेल हेर्दा लाग्छ, कुनै सदाबहार दुई चिर–प्रतिद्वन्दी भिडिरहेछन् । दुवै हार्न तयार छैनन् । भारत–पाकिस्तानजस्तै । ‘एल–क्लासिको’ अर्थात् रियाल र बार्सिलोनाको भिड्न्त जस्तै ।
आइतबार आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा यही प्रतिद्वन्दिता देखियो । ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले टस जित्यो । नेपालले कप्तान रोहित पौडेलको निर्णयअनुसार पहिले ब्याटिङ गर्दै १४० रन बनायो ।

पहिलो इनिङमा ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले कप्तानको निर्णयलाई न्याय गर्दै राम्रै सुरुआत दिलाए । तर, मध्यक्रम र न्यूनक्रमका ब्याटरले सुरुआतअनुसारको अन्त्य गर्न सकेनन् । २० ओभरमा ६ विकेट गुमाउँदा नेपाल १४० रनमै खुम्चियो ।
प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभर नै ब्याटिङ गर्दा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।
मध्यम योगफल थियो । लक्ष्य १४१, १२० बलमा । यूएईलाई आवश्यक रनरेट पनि सातको मात्रै थियो ।
यूएईको सुरुआत पनि नेपाल जस्तै रह्यो । १२औँ ओभरको सुरुआतसम्म एक विकेट गुमाएर ८३ रन बनाएको थियो । ओपनर तथा कप्तान मुहम्मद वसिमलाई एक रनमै गुमाउँदा यूएईको स्कोरबोर्डमा दुई रनमात्रै थियो । तर, अर्का ओपनर जोनाथन फिगी र आलिसान सराफूले दोस्रो विकेटका निम्ति ८१ रनको साझेदारी गर्दै खेललाई यूएईको पक्षमा ढाले ।

११.२ ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरीले विकेटकिपर आसिफ सेखबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । यही खेलको ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसपछि यूएईले ८८ मा तेस्रो, ९१ मा चौथो, ९६ मा पाँचौँ र छैटौँ विकेट गुमायो ।
खेलको अन्तिम ओभर पुग्दा यूएई १३१–६ को स्थितिमा थियो । यही अन्तिम ओभरमा दुई रन दौडिँदा यूएईका ब्याटरले क्रिजको अर्को एन्ड नपुगी ब्याट छुटाउँदा खेल हातबाट फुत्कियो ।
अन्तिम ओभरको ‘ड्रामा’
यूएईलाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता हुँदा नेपालका कप्तान रोहितले बलिङको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई थमाएका थिए ।
दीपेन्द्रले गरेको २०औँ ओभरको पहिलो बलमा जाहिद अलीले एक रन लिए । यो सँगै क्रिजमा ध्रुव परासर आइपुगे । ध्रुव तीनै थिए, यसबेलासम्म एक चौका र दुई छक्कासहित १५ बलमा २६ रन बनाएका थिए । दीपेन्द्रको दोस्रो बल ध्रुवले डट खेले । तर, तेस्रो बलमा ध्रुवले छक्का प्रहार गरे । योसँगै यूएईलाई अन्तिम तीन बलमा तीन रनको मात्र आवश्यकता थियो ।

चौथो बलमा दीपेन्द्रले परासरलाई ‘लङ अन’मा सन्दीप जोराबाट क्याच गराउँदै पभेलियन पठाए । ध्रुवले १८ बलमा एक चौका र तीन छक्कासहित ३२ रन जोडे ।
यसपछि, ब्याटिङमा आएका देब्रेहाते ब्याटर हैदर अलीले उडाएर नै ‘लङ अफ’मा खेले । हैदर अली र जाहिद अली दुई रनका निम्ति दौडिए पनि यो दुवै रनलाई अम्पायरले मान्यता दिएनन् । कारण, पहिलो रनका निम्ति दौडिँदा अधिकांश समय बलमा आँखा राखेका हैदरले ‘नन स्ट्राइकर्स एन्ड’ नपुग्दै ब्याट हातबाट छुटाएका थिए । ब्याट हातबाट छुट्दा उनले हातैले ‘नन् स्टाइकर्स एन्ड’लाई छुने प्रयास नगरेका भने होइनन् । तर, नछोई दोस्रो रनका निम्ति फर्किंदा उनी रनआउट भए । यूएईले एक रन पनि पाएन ।

चौथो र पाँचौँ बलमा लगातार विकेट गुमाउँदा यूएई १३८–८ को स्थितिमा थियो । हैदर आउट भएसँगै आएका जुनैद सिद्दिकी ‘लेग साइड’मा खेल्दा त्यहाँ तैनाथ नेपाली फिल्डर रोहित पौडेलले पहिले नै बलमा पकड बनाउन सक्दैनन् । तर, तत्कालै विकेटकिपर एन्डमा गरेको थ्रोलाई नियन्त्रणमा लिँदै आसिफले विकेट ‘मिडलविकेट’ निकाल्दै दुई रनका निम्ति अघि बढेका जाहिदलाई रनआउट गराएका थिए । अन्तिम बलमा यूएईले एक रन जोडे पनि स्कोर १३९–९ हुँदा नेपालले एक रनको रोमाञ्चक जित निकाल्यो ।
“यो त्यही हो, जुन कुरा हामीले यी दुई टिमबाट आशा गर्न सक्छौँ । नेपाल र यूएई ‘एल क्लासिको’ । हामीले यसअघि पनि यस्तै एल क्लासिको देखेका थियौँ,” नेपालको जितपछि नेपाली टिमकै पूर्वसदस्यसमेत रहेका कमेन्टेटर परेस लोहनीले भने ।
ढुकढुक भइरहेको थियो– दीपेन्द्र
अन्तिम ओभरमा एक विकेट आफ्नो नाम र दुई रनआउट गराएका दीपेन्द्रसिंह ऐरी नै खेलको ‘प्लेयर अफ दी म्याच’ चयन भए । चार ओभर बलिङ गरेका दीपेन्द्रले तीन विकेट लिँदा २२ रनमात्र खर्चिए ।

रोमाञ्चक जितपछि उनले भने, “ढुकढुकढुक भइराखेको थियो । मै थिए बलिङ गर्नेमा । कन्फिडेन्ट आफैंले ल्याउनुपर्यो । डर लागिरहेको थियो । तर, आफूले शान्त बसेर राम्रो गरिरहेँ ।”
