site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनएमा एकता अहिलेको आवश्यकता : केसी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपाली अभियानलाई एकताबद्ध बनाउन आफूहरू हदैसम्म लचिलो भएर अगाडि बढेको र केही दिनभित्रै सहमतिमा पुग्ने बताएका छन् । एनआरएनए डेको अवसर पारेर आज आयोजित एक कार्यक्रममा उनले संघभित्रको विवाद अन्त्य गर्न दुई पक्षबीच वार्ता र छलफल भइरहेको उल्लेख गरे ।

“संस्थाको वैधानिक सर्वोच्चता कायम गर्दै यसलाई एकताबद्ध रूपमा अघि बढाउन गैरआवासीय नेपाली अभियानमा फरक धारमा रहेका साथीहरूलाई समेत समाहित गर्न र  एकताको वातावरण तयार पार्न प्रयासरत छौँ,” उनले भने, “हामी विगत केही दिनदेखि लगातार वार्तामा छौँ । मुलुक दुखेको बेला पनि हामी सबैथोक बिर्सेर एक हुन सकेनौँ भने भोलिका दिनमा हामीलाई हेर्ने दृष्टिकोण कस्तो होला, यसको हेक्का राख्न जरुरी छ ।”

अध्यक्ष केसीले फरकधारमा रहेकाले गएको वैशाखमा गरेको महाधिवेशनको संरचनालाई अभिलेखीकरण गरिने बताए । र, ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा पाँच सदस्यीय स्थायी कमिटी गठन गरिने उनले जानकारी दिए । उनले उक्त कमिटीले अबका तीन महिनाभित्र नियमित १२औँ महाधिवेशन सम्पन्न गर्ने सहमतिनजिक आफूहरू पुगेको बताए ।

“अबको योजना १२औँ महाधिवेशनको तयारी गर्ने, गैरआवासीय नेपाली संघलाई संस्थागत रूपमा अझ सबल, समावेशी र उत्तरदायी बनाउने दिशामा केन्द्रित हुनेछ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्