झापा । झापाको दमक नगरपालिका–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठजनालाई शनिबार (असोज २५) प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक–३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर नं. ३ हट नं. ३५३ का साजन थापाको घरमा छापा मारेको थियो । त्यसक्रममा उक्त घरको कोठामा चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम रहेको उनले बताए ।
प्रहरीले लागुऔषध बिक्री वितरणमा संलग्न आरोपमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलामको चुलाचुली गाउँपालिका–३ का ३२ वर्षीय दीपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक–३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पवीन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२ हट नं. १९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङको मिक्लाजुङ गाउँपालिका–८ का २० वर्षीय निश्चल पोर्तेलाई पक्राउ गरेको छ ।
दमक–३ का लिम्बू ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको पाइएको डीएसपी खड्काले बताए ।
यस्तै, मिक्लाजुङ–८ का पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेकामा गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका फरार कैदी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस