site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ बजारमा

काठमाडौं । अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । शनिबार (असोज २५) काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएको छ । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो ।

मुलुकमा पछिल्लोपटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे । र, उनले पुस्तकबारे आफ्ना धारणा राखे ।

हमालले आफूले पुस्तकमा बाल्यकाल, युवा अनि हालसम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको बताए । “यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रूपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु,” उनले भने, “मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसँग म यसरी खुलेको छु, सायद म त्यति त मधुसँग पनि खुलेको छैन कि !”

उनले आफ्नो अर्काे भेट नारायणगढमा हुने समेत जानकारी दिए । “आज काठमाडौंमा युगदेखि युगसम्मको विमोचन भयो,” उनले भने, “अब अर्को भेट नारायणगढमा कात्तिक १ गते नारायणी कला मन्दिरमा हुनेछ ।”

कार्यक्रममा लेखक बुद्धिसागरले पनि हमालको पुस्तकबारे चर्चा गरे । “राजधानीको एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएँ,” उनले भने, “त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु । यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन् । पुस्तक पठनीय छ । अझ फराकिलो गरी उहाँलाई बुझ्न सकिन्छ ।”

आफूहरूले पुस्तक लेखनका क्रममा लामो समय बिताएको लेखक यज्ञशले बताए । लेखनका निम्ति तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ । पुस्तक लेखनका क्रममा हमालसँगको सहकार्य विशेष रहेको पनि उनले जनाए ।

राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले बताइन् । “राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरूले पनि त्यसैगरी नै बुझ्नुहुनेछ,” उनले भनिन् ।

हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्त्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीले बताए । “यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो,” उनले भने । 

विमोचनका दिन शनिबार लोकार्पणस्थलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहारस्वरूप दिइएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्