site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानाध्यापक ‘घुस’सहित समातिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । चार लाख ५० हजार रुपैयाँ ‘घुस’ रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उक्त विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएका थिए । तर, प्रधानाध्यापक संजयले शिक्षक नियुक्तिका निम्ति ‘बिचौलिया’ अरविन्द प्रकाश साह कानुमार्फत चार लाख ५० हजार घुस मागेको भन्ने उजुरीपछि अख्तियारको टोली खटिएको थियो ।

शुक्रबार (असोज २४) उनीहरू दुवैजनालाई उक्त रकमसहित पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित होटेलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

“...अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस/रिसवतबापतको रकम रु.४,५०,०००।– (चार लाख पचास हजार रुपैयाँ) बिचौलिया अरविन्द प्रकाश साह कानुले लिइसकेको अवस्थामा निजहरू संजय प्रसाद र अरविन्द प्रकाश साह कानुलाई उक्त रकमसहित जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटेलबाट मिति २०८२।०६।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” अख्तियारले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्