काठमाडौं । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ ।
नेपाल भौगोलिक हिसाबले जति सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुल्ठुला नदीहरू र तराई क्षेत्रले वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ ।
नौ सयभन्दा बढी प्रजातिका चरा, दुई सयभन्दा बढी जनावर, धेरै प्रजातिका माछा र ५० भन्दा बढी घस्स्रने सँगसँगै अनगिन्ती किराफट्यांग्रा र वनस्पति नेपालमा पाइन्छ । देशको कुल भूभागको २३.३९ प्रतिशत जमिनलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।
नेपालमा संसारकै लोपोन्मुख पाटे बाघ, एक सिंगे गैंडा, जंगली हात्तीजस्ता जनावर सजिलै देख्न सकिन्छ । बर्सेनि लाखौँको संख्यामा विभिन्न प्रजातिका चराहरू अन्य देशबाट नेपाल बसाईं सरेर आउँछन् । त्यसबाहेक संसारमा कतै नपाइने चरा काँडे भ्याकुर नेपालको पहाडी भूभागमा सजिलै पाइन्छ ।
















तस्बिर : दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी ।