(नेपाली काव्यजगत्का सिद्धहस्त सर्जक हुन्, दिनेश अधिकारी । उनी कविता र गीत दुवैमा समान रूपले कलम चलाउँछन् । अधिकारीका गीत मात्र होइन, कविताका पाठक पनि उत्तिकै छन् । उनले ०३७ सालमा पहिलो कविताकृति ‘अन्तरका छिटाहरू’ बजारमा ल्याएका थिए । त्यसयता उनका ‘धर्तीको गीत’, ‘आदिम आवाज’, ‘इन्द्रजात्रा’, ‘अतिरिक्त अभिलेख’ (मदन पुरस्कार प्राप्त), ‘सीमान्त सपना’, ‘भरियाको भूगोल’ कविताकृति प्रकाशित छन् । कविता, गीत, गीति एल्बम र फोटो संस्मरण गरेर डेढ दर्जन बढी पुस्तक पस्किइसकेका अधिकारीको पछिल्लो कविताकृति हो, ‘पानीको परेड’ । सोही कृति र समकालीन नेपाली कविताका विषयमा अधिकारीसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश)
तपाईंको पछिल्लो कविताकृति ‘पानीको परेड’ करिब १४ वर्षपछि प्रकाशन भयो, प्रकाशनमा लामो ‘ग्याप’ भएन ?
हो, लामो समयपछि नै संग्रह निस्कियो । तर, त्यसमा १५ वर्षभित्र लेखिएका कविताहरू समेटिएका छन् । सामान्य रूपमा हेर्दा ढिलो निस्किएको देखिन्छ । तर, मेरा कवितासंग्रहहरू केही समयको अन्तरालमै प्रकाशन हुँदै आइरहेका छन् । जस्तो कि पहिलो कृति २०३७ सालमा निस्कियो । दोस्रो, तेस्रो ०४४ र ०४५ सालमा निस्कियो भने त्यसपछि ०५६ मा, ०६७ मा र अहिले आएर ०८१ सालमा प्रकाशित भयो ।
पहिलो कविताकृति कसरी आयो ?
२०३६ सालको समयमा सडक कविता क्रान्तिको परिवेश थियो । सडक कविता क्रान्तिमा सहभागिताको सिलसिलामा साथीभाइ र अग्रज सर्जकहरूको नियमित जमघट हुन्थ्यो । त्यसबखत एउटा अनौपचारिक संस्था थियो, युवा साहित्यिक समाज । त्यसमा पनि साथीहरूको संलग्नता थियो । सोही मेसोमा साहित्यकारहरूको जमघट नयाँसडक पिपलबोटको मोती महल रेस्टुरेन्टमा भइरहन्थ्यो । त्यसै बेला भवानी घिमिरे दाइले ‘दिनेशको कवितासंग्रह निकाल्नुपर्यो’ भन्नुभयो । त्यो छिमलमा नयाँ कविलाई प्रोत्साहित गर्नुपर्छ भन्ने मानसिकता थियो अग्रजहरूमा । र, त्यहीँ पैसा उठाएर मेरो कविताकृति प्रकाशनको काम सुरु भयो । मेरो पहिलो कवितासंग्रह ‘अन्तरका छिटाहरू’ ०३७ साल वैशाख १ गते प्रकाशित भएको थियो ।
त्यसपछि म केही सिन्सियर भएँ । त्यसपछि एउटा कवितासंग्रह निकाल्ने मनस्थिति बनाएँ । म विद्रोही चेतका कविता बढी लेख्थेँ । प्रकाशनका लागि एकेडेमीलाई दिने मन बनाएँ । तर, मेरो लेखनमा विद्रोही चेत हुने भएकाले एकेडेमीले कविताकृति प्रकाशित नगर्ला भनेर केही नरम कविताहरूको एउटा पाण्डुलिपि बनाएँ र एकेडेमीमा बुझाएँ ।
साझा प्रकाशन यस मामिलामा उदार थियो । त्यसैले विद्रोही चेतका कविताहरूको पाण्डुलिपि साझा प्रकाशनमा बुझाएँ । यसरी साझालाई दिएको कविताकृति समयमै छापियो, २०४४ सालमा । एकेडेमीले भने समय लियो र २०४५ सालमा मात्र प्रकाशित भयो ।
यसरी पहिलोबाट करिब आठ वर्षपछि अर्को कविताकृति निस्कियो । त्यसपछि एकैचोटि ११/११ वर्षपछि दुई पुस्तक निस्कियो । अनि, ०६७ सालपछि ०८१ मा निस्किँदा १४ वर्ष लाग्यो । यसरी हरेक कवितासंग्रह लामोलामो अन्तरपछि निस्किनुमा मेरो व्यक्तिगत जीवनको उतारचढावले पनि असर गरेको हो भन्ने लाग्छ ।
‘पानीको परेड’ले अरूभन्दा धेरै समय लियो नि !
मैले कविता नियमित लेख्दै आएको छु । पत्रपत्रिकामा प्रकाशित हुँदै आएका पनि छन् । तर, प्रकाशित भइसकेका कविताहरू कृतिमा समावेश गर्ने गरी छान्नु पनि आफैँमा कठिन काम हो । कविता छान्न मलाई गाह्रो पनि भयो । किनभने, छापिएका त धेरै थिए, तर कृतिभित्र कुनकुन राख्ने भनेर निर्णय गर्नमै समय लाग्यो । त्यसपछि प्रकाशन संस्था नेपालयको कुरा आयो । प्रकाशन संस्थाले वर्षको एउटा कविताकृति मात्रै प्रकाशित गर्ने भएको र त्यस वर्ष अरू कसैको कविताकृति आइसकेकोले मैले अर्को एक वर्षको समय पर्खिनुपर्यो । त्यसले पनि समय बढायो ।
तपाईंका कविताकृतिमा धेरै कविता हुँदैनन् नि ! कम लेखेर हो ?
त्यसो होइन । म कविता लेखिरहन्छु । मेरा अगाडिका संग्रहहरूमा सरदर ५०/५१ वटा कविताहरू मात्र समावेश छन् । त्यस हिसाबले ‘पानीको परेड’ मेरो सबैभन्दा मोटो कवितासंग्रह हो । १५ वर्षको समयका कविता समावेश भएको हुनाले यो अलिक मोटो छ । यसमा ७७ वटा कविताहरू छन् । अर्को कुरा, मैले कवितासंग्रह निकाल्दा छापिएका कविताहरू मात्र कृतिमा राख्दिनँ । संग्रहमा कविता जतिवटा छन्, त्यसको १० प्रतिशत कविता नितान्त नयाँ कवितालाई स्थान दिँदै आएको छु । जस्तो, ‘पानीको परेड’मा पनि सातआठवटा कविता नयाँ छन्, जुन कतै प्रकाशित भएका छैनन् । मलाई लाग्छ, मेरा पाठकले कहीँ नपढेको १० प्रतिशत कविता कृतिभित्र पढ्न पाउनुपर्छ । जहाँसम्म लेखनको कुरो छ, म त्यति बाक्लै कविता लेख्ने होइन, तर पातलो लेख्नेमा पनि म पर्दिनँ ।
त्यसो भए लेखेका कतिपय कविता नछापेर बचाएर राख्नुहुन्छ ?
हो, मैले कतिपय कविता कतै नछापेर कृतिका लागि भनेर बचाएर राखिरहेको हुन्छु । मसँग अन्यत्र छापिएका १४० भन्दा बढी कविताहरू थिए । ती सबैबाट छानेर र नयाँ समेत गरेर ‘पानीको परेड’भित्र ७७ कविता राखिएका हुन् ।
कविताको किताब कम बिक्री हुन्छ भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
कविताका किताब कम निस्किँदैन, झन् बढी निस्किन्छ । किनभने, मानिसले साहित्यिक यात्रा सुरु गर्दा कविताबाटै सुरु गरेका हुन्छन् र पछि गएर कुनै एउटा विधा समात्छन् । सुरुआतमा तिनले पनि कविताको संग्रह निकालेको पाइन्छ ।
जहाँसम्म कम बिक्री हुने कुरा छ, त्यसलाई परिस्थितिसँग मूल्यांकन गर्नुपर्छ । कविताको किताब कम बिक्री भएको भन्न मिल्दैन । म के भन्छु भने विनिमय र बिक्रीलाई सँगसँगै राखेर हेर्नुपर्छ । विनिमय र बिक्री दुई अलग अवस्था हुन् । विनिमयको हिसाबले हेर्ने हो भने अहिले पनि कविता सबैभन्दा अगाडि छ । किनभने, पाठकले दिनेश अधिकारी वा अरू कोही कविका कविता विभिन्न पत्रपत्रिका, अनलाइनमा पढ्न पाउनुहुन्छ । रेडियोको साहित्यिक कार्यक्रममा सुन्न पाउनुहुन्छ । कवि गोष्ठीहरूमा सुन्न पाउनुहुन्छ । यस हिसाबले कविताको पहुँचका लागि धेरै ठाउँ छन् । त्यो पहुँच अरू विधालाई सम्भव छैन ।
उपन्यास, नाटक वा कथा वाचनको कार्यक्रम कविता वाचनजस्तो सम्भव देखिँदैन । हुँदैन पनि । कहिलेकाहीँ कथा वाचनको कार्यक्रम नभएका होइनन्, तर कविताको ठाउँ त्यसले लिन सकिरहेको देखिँदैन । त्यसैले उपन्यास, नाटक वा कथा किताब नकिनी पाठकले पढ्न पाउने अवस्था छैन । पाठकले कविताको किताब नकिनेरै पनि पढ्न र सुन्न पाउनुहुन्छ । यसरी विनिमयका हिसाबले कुरा गर्ने हो भने आजका मितिसम्म नेपाली कविता साहित्यका अरू विधाभन्दा अगाडि छ ।
कविताको किताब बिक्री हुँदैन भन्ने पनि मलाई लाग्दैन । कविताका किताबहरू पनि बिक्री भइरहेको देखेको छु । हो, ढिलो बिक्री होला, तर बिक्री भइरहेको छ ।
तपाईंका किताबहरू कत्तिको बिक्री भएका छन् ?
सुरुको ‘अन्तरका छिटाहरू’ जति छापियो त्यो के भयो कसो भयो मलाई थाहा छैन । साथीहरूको सद्भावले त्यो कृति आएको थियो । अरू संग्रहहरूको थप संस्करणहरू आएका छन् । त्यसैले बिक्री भएका छन् भन्न सकिन्छ । कतिपय राम्रा कविका कविताकृतिहरू बिक्री भइरहेका छन् । त्यसैले कविताका किताब बिक्दैन भन्ने कुरासँग म सहमत छैन ।
त्यसो भए कविताकृतिका विषयमा यस्तो किन भनिन्छ ?
त्यसका केही कारणहरू छन् । मैले अघि नै पनि भनेँ, सबैले सुरुआतमा कविता नै लेख्छन् र किताब निकाल्छन् । सबैले निकाल्दा अत्यधिक संख्यामा किताबहरू बजारमा देखिने नै भए । फेरि, सौकियाहरूले पनि लेखेर कुनै प्रकाशन संस्थाबाट निकाल्दै आएका छन् । यहाँ एउटा कुरो भन्नैपर्छ, प्रकाशन संस्थाले पनि यसलाई बिगारेका छन् । संस्थाले आर्थिक जिम्मेवारी कविले लिने गरी आफ्नो लोगो दिएर किताब छाप्दै आएका छन् । यो अदृश्य सत्य हो । यसको जिम्मेवारी कसले लिने ? नराम्रा कृतिलाई प्रोत्साहित गर्ने काम त्यहाँबाटै भएको छ ।

अर्को कुरा, कविमा कविता लेखनको साधना गर्नुभन्दा पनि प्रचारप्रसारको लोभ बढी भएर गएको पाइन्छ । त्यसमाथि प्रकाशन संस्थाले उनीहरूको लोभलाई मलजल गरिदिएका कारण कवितामाथि यो आरोप लाग्न मद्दत पुगेको हो भन्ने मलाई लाग्छ ।
कविले साधना गर्नुपर्छ भन्ने संकेत गर्नुभयो, साधनाको अभाव र जे लेख्यो त्यही सामाजिक सञ्जालमा पोस्ट गर्ने परिपाटीलाई के भन्नुहुन्छ ?
हामीले कविताका नाममा लेखिएका सबै चिजलाई कविता भन्न थाल्यौँ भने त हामी डुब्छौँ । तर, कवितामा कविताको चरित्र छ कि छैन भन्ने विषयमा आजका पाठकहरू सचेत छन् है ! यतातिर कवि स्वयम् पनि जिम्मेवार हुनुपर्छ । यसतर्फ प्रकाशक पनि जिम्मेवार हुनुपर्छ ।
साधनाबिनाको चिज महत्त्वपूर्ण हुँदैन । जस्तो, कुनै गीतको कुरा गरौँ । कुनै गायकले अरू कसैको गीत कपी गर्न सक्छ । तर, कपी गर्नेले साधना गरेर आएको गायकले जस्तो फिल गर्न सक्दैन । कवितामा पनि त्यही फरक छ । कवितामा साधना गर्ने कवि बिस्तारै विम्ब, प्रतीक, मिथमा जान्छ । त्योसँग त्यसको सादृश्यता सोच्दै कवितालाई मन्त्र बनाउनतिर लाग्छ । यसअर्थमा साधनारत मान्छेले कवितालाई मन्त्र बनाउँछ ।
साधना नगर्ने मान्छे विवरणमा जान्छ र कवितालाई विवरण बनाउँछ । त्यसैले सबैभन्दा पहिलो काम भनेको नै साधना हो । अहिलेको समस्या भनेकै कविमा अध्ययन र साधनाको कमी हो ।
तथापि, अहिलेको काव्यजगत्सँग म निराश छु भन्ने पनि होइन । एउटा सानो उदाहरण दिऊँ, कुनै एउटा संस्थामा चार सय मानिस कार्यरत छन्, ती चार सयमा हरेक व्यक्ति त्यस संस्थाको लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध भएर लाग्या हुन्छन् र ! त्यसरी लाग्ने बढीमा ४० जना हुन्छन् । चार सयमा ४० थोरै हो । तर, त्यो संस्थाको उन्नतिप्रगतिमा त्यही ४० को काम महत्त्वपूर्ण हुन्छ । त्यस्तै अहिलेको नेपाली कवितामा ४० चाहिँ छन् है । र, त्यही ४० प्रसंशायोग्य छन् । तिनीहरूले नै नेपाली कवितालाई अगाडि लैजाने हो । लैजान्छन् पनि । ती ४० लाई हेरेर म बडो आशावादी छु । नेपाली कविताले आफ्नो अनुहार फेरेको ती ४० कविका कविताले देखाउँछ ।
‘पानीको परेड’मा के कस्ता कविता प्रस्तुत गर्नुभएको छ ?
यस कविताकृतिमा सातवटा शीर्षकमा कविताहरूलाई बाँडेको छु । त्यही शीर्षकले बताउँछ, त्यसमा कविता केके छ भन्ने । म मानवताको पक्षधर हुँ, स्वतन्त्रता, परिश्रम र न्यायको पक्षधर हुँ । त्यसैले मेरा कवितामा यी कुरा छन् । जीवन र जगत् छन् ।