site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं । तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २४) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । 

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । समूह ‘बी’मा रहेको नेपालले यसअघि कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्नेछ । 

यता, जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो । 

अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ । 

छनोटअघि नेपालले तयारीस्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो । 

यस्तै, ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको र कतारविरुद्ध १६ रनको जित निकालेको थियो । 

नेपाली क्रिकेट टिमले हालसम्म दुई पटकमात्र टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाली टिम वर्तमान नेपाल क्रिकेट संघ (क्यान)का सचिवसमेत रहेका पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । 

त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले नै सम्हालेका थिए । 

तीन टिमले विश्वकपमा स्थान बनाउने
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । 

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०५:३७
प्रतिक्रिया दिनुहोस्