site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता अनधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाका बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्नेजस्ता ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरिएको छ ।

बैंकद्वारा बिहीबार (असोज २३) जारी विज्ञप्तिमा भनिएको छ, “बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनै पनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटीएम पिन, मोबाइल बैंकिङ तथा ईबैंकिङका ओटीपी, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।” 

बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी विज्ञप्तिमा अनधिकृत रूपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्