site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकको पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७, पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते भएका छन् ।

रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मंगलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सातजनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ । हालसम्म बसमा सवार यात्रुको संख्या यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए । रासस

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्