सिमकोट । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार (असोज २०) साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो ।
हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए । यहाँ सोमबार दिउँसोदेखि हल्का वर्षा भएको थियो । मंगलबार (असोज २१) बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिए । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।
यस्तै, सिमकोट गाउँपालिकाका उच्च क्षेत्र – पञ्चमुखी, रलिङ, सैपाललगायत खार्पुनाथ गाउँपालिकाका केही स्थानमा समेत हिमपात भएको छ । जिल्लाका उच्च भेगमा हिमपात र सदरमुकाम सिमकोटसहित होचो क्षेत्रमा वर्षा भइरहेको छ ।
सदरमुकाम सिमकोटमा एक्कासि चिसो बढेको स्थानीय मुक्ति रावतले बताए ।
चिसोले विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । एक मात्र विमानस्थलमा समेत वर्षाले उडान अवरुद्ध भएको छ । रासस