site stats
बाह्रखरी :: Baahrakhari
देश
मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा महँगो भाडा तिरेर वैकल्पिक मार्ग प्रयोग

तेह्रथुम । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ । 

ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् ।

पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो । 

सोमबार दिउँसो तेह्रथुमको म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङ्लुङ आइपुगेको बताइन् । उनले म्याङलुङबाट वसन्तपुर–हिले–धनकुटा–धरान हुँदै काठमाडौं फर्किने बताइन् ।  

पाँचथर याङवरकका राजकुमार सेलिङले पनि वैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए । पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिकमार्गले सहज भएको छ । रासस 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्