काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा मुख्यालयमा टोलीको बिदाइ गरेको हो ।
छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग ‘होम र अवे’ गरी दुई खेल खेल्दै छ । नेपालले अक्टोबर ९ मा बिङडोङ रंगशालामा पहिलो खेल खेल्नेछ भने अक्टोबर १४ मा नोङन्हात रंगशालामा दोस्रो खेल खेल्नेछ । नेपाल समूहको तालिकामा पुछारमा रहेको छ ।
बिदाइ कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पछिल्लो समय देशमा घटेका विभिन्न घटनाक्रमले नेपालीहरूको मन टुक्रिएको अवस्थामा पुगेको बताउँदै खेलाडीहरूलाई खेलमार्फत नेपालीहरूलाई एकजुट बनाउन शुभकामना दिए ।
“अहिले देशभित्र रहेका नेपाली मनहरू टुक्रा टुक्रा भएको अवस्थामा छ । यो अवस्थामा ती मनहरूलाई एकजुट बनाउन सक्ने भनेको खेलकुदले नै हो । त्यसैले तपाईंहरूमाथि नेपालीहरूको मनलाई एकजुट बनाउने अभिभारा छ । खेलको सकारात्मक नतिजाको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु,” घिसिङले भने ।
कार्यक्रममा एन्फाका कार्यवाहक महासचिव बद्री भट्टराईले खेलडीहरूलाई विगतलाई भुलेर खेलमा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै जितको निम्ति शुभकामना व्यक्त गरे । कार्यक्रममा एन्फाका कार्यसमिति सदस्य सरिला श्रेष्ठ, सीईओ इन्द्रमान तुलाधर लगायतका अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।
उक्त टोलीमा अभिषेक लिम्बू, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयूष घलान, विमल पाण्डे, विशाल सुनार छन् । यसैगरी टोलीमा दीप कार्की, दिनेश हेञ्जन, जिलेस्पीजंग कार्की, कृतिस रत्न छुँजु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश कार्की, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेस श्रेष्ठ छन् ।