site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सोमबार किन खुलेन सेयर बजार ?

काठमाडौं । दसैँअघि असोज १२ गते अन्तिम कारोबारपछि बन्द भएको सेयर बजार १९ गतेबाट नियमित खुल्ने तयारी थियो । १७ र १८ गते परेको अविरल वर्षाका कारण सरकारले १९ र २० गते सार्वजनिक बिदा दियो । दसैँ मनाउन घर गएकाहरू अझ दुई दिन घरमा नै रोकिए । 

तर, १९ गते अधिकांश स्थानमा मौसम खुलेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको समन्वयमा सरकारी कार्यालय खोल्न आइतबार (असोज १९ गते) सूचना जारी गर्‍यो । काठमाडौं जिल्ला प्रशासनले पनि कार्यालय खोल्न सूचना जारी गर्‍यो । तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने बजार खुलाएन । केही कर्मचारी कार्यालय आए । केही आइपुगेनन् । 

स्थानीय प्रशासनले कार्यालय खोल्न भने पनि आम लगानीकर्ताको सुरक्षालाई हेरेरै सोमबार कारोबार नखुलाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बताए । “गृह मन्त्रालयसँग समन्वय गर्दा आज कारोबार नगराउने नै संवाद भयो । सबै लगानीकर्ता र कर्मचारी सुरक्षित स्थानमा नपुगेको हुन सक्ने अनुमानले पनि हामीले बजार नखुलाएका हौँ,” उनले भने, “मंगलबारबाट नियमित कारोबार खुल्छ । सरकारले दुई दिन सार्वजनिक बिदा लिएकाले पनि हामीले त्यहीअनुसार मनस्थिति बनाएका थियौँ ।”

४५ हजार लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर आइतबार र सोमबार नै कारोबार नगराएको चापागाईं बताउँछन् । 

अविरल वर्षाका कारण नेप्सेका अधिकांश कर्मचारी उपत्यका बाहिरबाट काठमाडौं फर्कन समय लागेको थियो । कतिपय त आज मात्र काठमाडौं भित्रिएका छन् । केही कर्मचारी भने सोमबार कार्यालय आएर फर्किएका छन् । 

कार्यालय खोलेर पनि कारोबार नगराएको भन्दै कतिपयले सामाजिक सञ्जालमार्फत नेप्सेको नेतृत्वको आलोचना गर्न थालेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्