काठमाडौं । वर्षा र पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन विभिन्न ठाउँमा ‘होल्ड’ गरिएका छन् ।
भक्तपुरको साँगास्थति झोलुंगे पुलनजिक झरेको पहिरोले आवत–जावत प्रभावति भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलनजिक पहिरो हटाइएसँगै सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।
कान्तिलोकपथअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका ३ टाकुचेमा खसेको पहरिले आवात–जावत बन्द भएको छ ।
फर्पिङ–सिस्नेरीअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालका–४ महालक्ष्मी खोलानजिकै माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालका–११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन रोकिएको विभागले जानकारी दिएको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिँदा ठूला सवारीसाधन चल्न सकेका छैनन् ।
कोसी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।
पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोका कारण सवारी साधन चल्न नसकेको विभागले जानकारी दिएको छ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थति नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित सिद्दिचरण लोकमार्गमा पर्ने भंडारे खोलामा आएको बाढीले आवागमन रोकिएको सडक विभागले बताएको छ ।
