काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोसी, मधेस र वाग्मती प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको उच्च सम्भावना रहेको चेतावनी दिएको छ ।
विभागका अनुसार, हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव कायम छ ।
विभागले आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा भारी र एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भोलि दिउँसोको मौसम
भोलि (आइतबार) दिउँसो कोसी, मधेस, वाग्मती प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान छ ।