site stats
बाह्रखरी :: Baahrakhari
देश
भारी वर्षाको चेतावनीपछि ललितपुर प्रशासनले निरीक्षण गर्‍यो चोभार गल्छी

काठमाडौं । भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारी वर्षा हुने प्रक्षेपण गरेको छ । आज ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरूले चोभार गल्छीको निरीक्षण गरेका हुन् ।

नख्खु खोला, वाग्मती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरीक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले बताए ।

जिल्लाको वाग्मती गाउँपालिकालगायत दक्षिणी भूभागमा बाढीपहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालिकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ ।

प्राकृतिक विपद् न्यूनीकरणका लागि आवश्यक सबै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्