२०८१ साल कार्तिक १५ गते बिहीबार । तदनुसार अक्टोबर ३१, २०२४
हलोविन
विदेशको यात्रा । अपरिचित ठाउँ । ग्रेभजेनको सानो सहर । छोरी अमिताको घरभन्दा आधा घण्टा टाढा । साँझको समय । कतिपय घरहरूमा घरको बाहिर उज्यालो बत्तीको प्रकाश ।
प्रकाशले प्रस्टै देखिने भित्तामा झुन्ड्याइएका विविध भेषभूषा पहिरेका पुतलीहरू र फर्सीलाई मानवाकृति उर्फ अनुहारको अर्थात् टाउको, निधार, आँखा, मुख र नाक कान बनाएर राखिएको । त्यसभित्र बत्ती झलमल्ल बलेकोले टाढैबाट प्रस्ट देखिने मानवाकृति । प्रायःजसो बच्चाबच्चीहरू, केही अभिभावकको साथमा, केही एक्लैदुक्लै ।
केही समूहहरू कंकाल बनेका, आवरण र आकृति कंकालको । देख्दै डरलाग्दो ! घरघरमा गएर तर्साउने परम्परा । अचम्म र विचित्र खालका लाग्छन्, हाम्रा धर्म, संस्कृति र संस्कारहरू, किन ? प्रश्न उठाउनु, सोध्नु सबैको मौलिक अधिकार हो, हुनुपर्छ ।
यसमा एकले अर्कालाई शंकाको दायरामा ल्याउनुपर्ने कुनै कारण छैन, हुँदैन पनि । उफ् ! जति बुझ्यो, त्यति नै बुझ्न कठिन !
‘प्रभु’ शब्दले सम्बोधन
आफू कट्टर सनातन धर्मको अनुयायी अर्थात् हिन्दू धर्मावलम्बी जो परियो ।
केही नजिक बौद्ध धर्मसँग भए तापनि इस्लाम र इसाईभित्र छिर्ने कुरै भएन । छिर्नु, नछिर्नु अलग कुरा, आआफ्नो व्यक्तिगत धारणा हो । आस्थाको मामिलामा सबै धर्म स्वतन्त्र हुनुपर्छ । एकले अर्कोलाई घृणा गरिनुलाई कुनै धर्म मान्न पनि सकिँदैन । सबै धर्मका आ–आफ्नै विशेषता छन्, हुन्छन् ।
सबैको सम्मान गरिनु, गर्नुपर्छ । स्वतन्त्रताको परिभाषाभित्र हिन्दू सायद अन्यभन्दा निकट नै छ । धार्मिक आस्थालाई शिरोपर गर्दै यात्रारत छु, रहन्छु । हिन्दू धर्मभन्दा नजिकको अर्को कुनै देवस्थलमा पुगेर प्रार्थना गरेको छैन । प्रलोभनभन्दा टाढा छु, रहन्छु ।
न्यानो लाग्छ मलाई हाम्रो सनातन धर्म । आर्यहरूमा आदिमकालदेखि चलिआएको मानवधर्म, जो उदार र स्वतन्त्र पनि छ । बाध्यता र बाध्यकारी निकाय हाम्रो धर्ममा छैन ।
जतासुकै, जहाँसुकै देवताले बास गरेको भेट्छु । तेत्तीसकोटी देवता छन् भनिन्छ । त्यता नतमस्तक हुन्छु र ढोग्छु । ढुंगादेखि मान्छेको मनसम्मलाई आदर गर्छु । प्रभुको बास देख्छु । ‘प्रभु’ नामले सम्बोधन गर्छु ।
यता के–कति हिन्दू धर्मावलम्बी छन् वा अन्य ? थाहा भएन । म भने कुरोको चुरो समात्दा ‘प्रभु’ भन्ने शब्दले सम्बोधन गर्छु, गर्दै आएको छु । गरि नै रहन पाऊँसमेत भन्छु । ‘प्रभु’ शब्द मेरो आस्थाको शिखर हो, धरोहर हो ।
लाग्छ– भेटिएजति सबै मानव मेरा प्रभु हुन् । मैले ‘प्रभु’ भन्दा यता त क्रिश्चियनहरू पो खुसी हुँदा रहेछन् ! हिन्दूहरूलाई असहज लाग्दो रहेछ ।
आत्तिएँ म
मेरो अगाडि–पछाडि हेर्दाहेर्दै दायाँबायाँ मानिसका झुन्ड भेटिन्छन्, देखिन्छन् ।
तीमध्ये प्रायःजसो बच्चाबच्चीहरूको पहिरन टाउकोदेखि गोडासम्म कंकालको जस्तो । कुनै अजिंगरजस्ता । कुनैकुनै हाम्रो खेतबारीमा लगाइएको अन्नबाली जोगाउन राखिएको सुरक्षाकर्मी बुख्याँचाजस्तो । कुनैकुनै डायनोसरजस्तो देखिने ।
एक्कासि देख्दा जो कोही पनि आश्चर्यचकित मात्र नभएर डरले ढल्लाढल्लाझैँ अनुभूति हुँदो रहेछ । व्यक्तिगत अनुभव हामी नजिकैबाट बटुल्दै थियौँ । पहिलो चोटि अपर्झट देख्दा डरले आत्तिएँ म त ।
फरक हामी
हामी हिन्दू धर्मावलम्बीहरू आफ्ना पितृहरूले स्वर्गमा बास पाऊन् भन्छौँ । वर्षको दुई पल्ट श्राद्ध गर्छौं । एकपल्ट तिथिअनुसार र अर्को एकमुष्टरूपमा सोह्रश्राद्धमा । पिण्डदान दिन्छौँ, पूजा अर्चना गर्छौं घरमा बोलाएर जे जति सक्यौँ, हामीले गर्यौँ भनेर पितृलाई खुसी पारेर स्वर्ग पुग्न प्रार्थना गर्छौं ।
क्रिश्चियन समुदायले भने हलोविनको अवसर पारेर घरभित्र मृत आत्मा आउँला भनेर छेकथुन गर्ने चलन रहेछ । बाहिरबाट भित्र नपसेर बाहिरबाटै फर्किन लगाउने चलन रहेछ ।
फर्किएँ
रातको सन्नाटाले धेरै समयसम्म अपरिचित सहरमा घुमफिर गर्न अनुकूल नमिलेको होइन । तर, मनभित्र हुँडलिएको डरत्रासले घर फर्किन बारम्बार आदेश गरेझैँ लाग्यो । छन त त्यतै थिए गुरुद्वारा र लक्ष्मी तथा शिवको पवित्र मन्दिरहरू । दुवै मन्दिरमा एकएक पल्ट छोरीहरू एकता र अमिता, ज्वाइँ बुद्धि, नातिनी दृष्टिको साथमा हामी पुगेका थियौँ ।
आस्थाले तानेर पुऱ्याएका कारण मन चंगा भएको थियो । आस्था स्वयं आफैँमा प्रफुल्ल भएर हुर्दुराउँदै पुगेका थियौँ । गुरुद्वारामा त जो कोही भक्तजनहरू गएको खण्डमा निःशुल्क पेटभरि पुरी–तरकारी वा खिर–तरकारी खुवाउने चलन रहेछ । राम्रो र अनुकरणीय चलन ।
कतिपय त आस्थाभन्दा पनि पेटभरि खान पाउने भएकाले पनि दैनिक त्यता गएको नदेखिएको होइन, देखियो र सुनियो । रातको समय त्यता जाने कुरा पनि भएन । दुवै मन्दिरको ढोकामा बडेमानको ताल्चा सुरक्षार्थ खटाएका थिए पुजारीहरूले । साँझ ढल्किँदै रातको प्रहरले प्रहरलाई पछाडि धकेल्न हतारिएको समय हो ।
अझ एक्लै घरबाट टाढाको सहरमा हलोविनको साँझ अर्थ खोज्न र बुझ्न हिँड्नु । साथीभाइ कोही भए पनि डर नलाग्दो हो । एक्लै हुनुको अर्थमा जति टाढा पुग्यो उति नै त्रासले डेरा जमाउन थालेका कारण मेरो यात्रा भने आएकै बाटोतर्फ मोडियो । सन्नाटालाई चिर्दै निरन्तर अगाडि बढियो ।
बाटोमा जे भो, भो ! मन जति तर्सिनु थियो, तर्सियो । रातमा त्यो पनि निद्रामा निद्रा बिथोल्न कोही नआओस् है त !
३१ अक्टोबर अर्थात् कार्तिक महिनाको १५ गते । हामी धुमधामका साथ लक्ष्मी भित्र्याउने चटारोमा थियौँ । घरघरमा लक्ष्मीको पूजा गरिरहेका थियौँ । मन हलोविनमा भन्दा बढी लक्ष्मीपूजातिर तानिएको थियो । बेलायतमा कतिपय स्कूलसमेत हलोविनका कारण दुई हप्ताको छुट्टी रहेछन् ।
त्यतै भेटिए
हो, हजुर ! त्यहीँ रहेछ विपीन र सृजना पौडेलको निवास । तिहारको रौनक जम्मा भएका रहेछन् पाँच भाइ । म पनि थपिएपछि छ भाइ भइयो । तिहार अर्थात् यमपञ्चकको रौनक यता झनै थपियो ।
आफ्नै देशको संस्कृति र संस्कार, आहा ! मौकामा चौका हान्नै पर्यो, त्यसमा पनि साहित्यले त्यति महत्त्व नपाएको अवस्थामा । साहित्य के हो ? कस्तो हुनुपर्छ ? सो बारेमा सबैको माग मतर्फ तेर्सियो । कसैले ‘बुबा’, कसैले ‘अंकल’ भनेर सम्बोधन । सम्बोधन मात्र नभएर साहित्यको सानो अंश सुनाउन बारम्बार भएको अनुरोधबाट उम्किन मन लागेन ।
त्यहाँ कोही बिस, कोही सत्र, कोही दश–बाह्र वर्षदेखि बेलायतको ग्रेभजेन र डार्टफेर्ड एरियामा सपरिवार बस्दै आएका हाँसीखुसीका दम्पती थिए । खुसीले रमाएका भाइभतिज उमेरकाहरू यो एकहत्तरे वर्षको लक्काजवानलाई आफूमाझ पाएकोमा खुसी पोखिरहेका थिए ।
साँझतिर एक्लो यायावर भएर घुम्दै गर्दा केके फुर्यो के–के
थाहा छ– एक दिन सकिन्छ यो जवानी
नहेर्नू तिमीले म बन्दै गर्दाको खरानी
मदिरालयको परिचय त्यतै सकियो मित्र
हामी दुवैको सायद थिएन केही लगानी
सम्झनामा नआउनू, पीडा बढ्न सक्छ
म भएँ खरानी, आइन्दा नठान्नू परानी
भूपरिवेष्ठित छातीमा आश्रय खोज्यौ
माफ गर, दिन सकिनँ तिर्खामा पानी
उहिले–उहिलेको यादको ताजा स्मृति
पानीले होइन, आँसुले भिज्थ्यो सिरानी
शरद ऋतुको घाम भएँ, झरे सबै रहरहरू
कसरी सम्झियौ मलाई देशकै राजधानी ?
सम्बन्ध र संस्कार जानेर नसकिने रै’छ
उस्तै लाग्यो– हेलोविन र गाईजात्राको कहानी ।
पश्चिमी मुलुकका क्रिश्चियनहरूको ठूलो चाडलाई पनि सलाम गरेर निवास फर्किन मन लाग्यो । किन ढाँट्नु, कसलाई छल्नु ! जितौरी भनौँ कि खै के भनौँ केही पाउन्डहरूले बगलीको बोझ हल्का बढेछ ।
खुसी च्यापेर तिहारको रौनकमा आफूले गतवर्ष मित्रहरू विष्णुबहादुर सिंह, बुद्धिराज पाण्डे र तुल्सीराम पुडासैनीलाई घरमा पाहुना बोलाएर दाजुभाइ अर्थात् भाइ राजु बुढाथोकी र मैले हल्का जितेकामा लागेको मिथ्यादोष सम्झेर फिस्स हाँसेँ । रातको सन्नाटामा कसैले देख्ने कुरै भएन !
(बुढाथोकीको नियात्राकृति ‘समयले जुटाएको चिटचिट’बाट पुस्तक अंश)