काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन् ।
क्लब र एन्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । एन्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन् ।
एन्जिला तेस्रोपटक भारतीय लिग खेल्दै छिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ को सिजनमा भने एन्जिला टोलीको कप्तान नै थिइन् ।
पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी हुन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।
यसपटक विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन् । तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगको लागि आबद्ध हुने तयारी छिन् ।
"युरोपबाटै खेल्ने अवसर पनि आएको थियो । तर, ताजकिस्तानमा हुँदा सम्झौता गर्न पाइन्," अञ्जिलाले भनिन्, "तत्काललाई सेथुबाट भारतीय लिग खेल्छु । मध्यसिजनमा पुनः युरोपेली क्लबसँग नै जोडिन्छु ।"
यसअघि एन्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन् ।
एन्जिलाले हालसम्म देशको लागि ५७ खेल खेलिसकेकी छिन् । उनी देशको लागि सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी पनि पर्छिन् ।
नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्वविजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदैछन् । भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक तीनपटक जितेको छ ।