site stats
बाह्रखरी :: Baahrakhari
विचार
हाम्रा ज्येष्ठ नागरिक र जेन-जी पुस्ताका अपेक्षा

विश्वका अरू धेरै मुलुकमा जस्तै नेपालमा पनि ज्येष्ठ नागरिक अर्थात् ६० वर्ष उमेर पुगेका व्यक्तिहरूको जनसंख्या तीव्ररूपमा बढिरहेको छ । जापानलाई विश्वका सबैभन्दा बढी ज्येष्ठ नागरिक रहेको देश मानिन्छ जहाँ एक सयमा २५ जनाभन्दा बढी ज्येष्ठ नागरिक पर्छन् । नेपालको हालत त्यस्तो नभए पनि आजभन्दा पच्चीस वर्षअघि अर्थात् सन् २००० तिर लगभग ६ प्रतिशत रहेको ज्येष्ठ नागरिक जनसंख्या हाल करिब १० प्रतिशत पुगेको मानिन्छ । यस अर्थमा नेपालमा हाल करिब ३० लाख ज्येष्ठ नागरिक अर्थात् बुढ्यौली उमेरका व्यक्ति छन् । यो संख्या निरन्तर बढ्दै गएर केही वर्षपछि नेपालको नियति पनि जापान तथा अन्य विकसित देशकै जस्तो हुने त होइन ? यस्तो संशय र आशंका सर्वत्र गर्ने गरिएको छ ।

प्रजनन दर कम भएसँगै बालबालिका र युवा पुस्ताको जनसंख्या निरन्तर कम हुँदै जाने र ज्येष्ठ नागरिकको जनसंख्या क्रमशः बढ्दै गएमा जनसांख्यिक असन्तुलन भएर विकास तथा सामाजिक प्रक्रियामा नै खलल उत्पन्न हुनसक्छ । जापानलगायत विश्वका अन्य कतिपय देशबाट ती उदाहरणहरू प्रस्तुत भइसकेका छन् ।

काम गर्ने उमेरका व्यक्ति (नवयुवा तथा युवा) घट्दै जाने र बसीबसी (सामाजिक) भत्ता र पेन्सन खाने व्यक्ति र अशक्त तथा अति वृद्ध अवस्थाका नागरिकको संख्या बढ्दै गएमा समाज, पालिका, प्रदेश तथा समग्रमा देशकै उत्पादन, उत्पादकत्व र उत्पादनशीलता घट्न गई अनेक चुनौती आइपर्छन् । उत्पादनशील कार्य र उत्पादन वृद्धि नभई देशको समृद्धि तथा उन्नति नहुने र आश्रित जनसंख्या बढ्दै जाँदा व्यापार तथा निर्यात कम हुने, आयात बढ्ने, र समग्र अर्थतन्त्र नै आयातमुखी एवम् परमुखापेक्षी भई नराम्रोसँग धरापमा पर्न सक्छ । यो यथार्थ हामीले नयाँ पुस्तालाई पनि सिकाउनु पर्छ ।  नयाँ पुस्ताले चासोका साथ बुझ्नुपर्छ ।
 
उत्पादनशील काम नगर्ने व्यक्तिहरूको संख्या बढ्दै जाँदा प्रतिव्यक्ति आय घट्छ, वैदेशिक ऋण बढ्दै जान्छ र देश खोक्रिँदै जान्छ । अझ ऋण लिन खोज्दा पनि विदेशीले पत्याउन छोड्नेछन् । सन् २०२६ देखि नेपाल अति कम विकसित (एलडीसी) मुलुकको सूचीबाट विकासोन्मुख देशको सूचीमा प्रवेश गर्ने हुँदा हाम्रो देशले विगतमा जस्तो वैदेशिक अनुदान प्राप्त गर्न यसै पनि कठिन हुनेछ । यसले गर्दा हाम्रो अर्थतन्त्र र समाजतन्त्र मात्र होइन समग्र मानवतन्त्र र जीवनतन्त्र नै खल्बलिन गई महाधराप (ट्र्याप) मा पर्न सक्छ । त्यसैले जनसांख्यिक सन्तुलनप्रति सबै पुस्ताका व्यक्ति सचेत हुने बेला आएको छ । जनसङ्ख्याको बनोटमा उत्पन्न हुने प्रतिकूल परिस्थितिप्रति रणनीतिक तथा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने हुन्छ । 

स्वाभाविक हो, बाँच्ने उमेर बढ्दै जानु, स्वास्थ्योपचारको बढ्दो सुविधाले जीवन लम्मिनु, पछिल्लो पुस्ताको ढिलो विवाह हुने प्रवृत्ति पनि बढ्नु, एकल समाजेन्मुख प्रवृत्ति र प्रकृतिले बढावा पाउँदै जानुले बच्चाको हेरचाह गर्ने अर्थात् ‘धराले’ व्यक्तिको अभावमा नयाँ सन्तान जन्माउन युवापुस्ता कम इच्छुक हुँदै जानु, प्रतिस्पर्धी जीवनपद्धतिले गर्दा लोग्नेस्वास्नी दुवै घरबाहिरको व्यावसायिक कार्य, व्यक्तित्व विकास तथा पारिवारिक उन्नयनमा केन्द्रित हुँदा बच्चा पाउने योजना बिथोलिन जानुजस्ता कारणले नयाँ पुस्तामा बालबच्चा जन्माउन कम भएको छ ।

पहिले एकजोडीले बाह्र तेह्रवटासम्म बच्चा पाउँथे अब त्यो प्रवृत्ति एकादेशको कथा भइसकेको छ । एक जोडीबाट बढीमा दुई बच्चा जन्मन पनि कठिन छ । अत्यधिक महँगी र होडयुक्त आधुनिक जीवनशैलीले गर्दा जन्मेका बच्चालाई कसरी हुर्काउने बढाउने, कसरी पढाउने, र बिरामी पर्दा कसरी उपचार गर्ने भन्ने पिरलोले पनि अहिलेको पुस्ता सन्तान जन्माउन हच्केको अवस्था छ । यी समग्र परिवेशले आउँदो पच्चीस वर्षमा नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात बढ्नेछ भने बालबालिकाको अनुपात घट्नेछ ।   अबको ४० वर्ष जति पछिबाट क्रियाशील नागरिकको अनुपात कम हुँदै जाने देखिन्छ । पाको उमेरका व्यक्तिलाई हेर्ने व्यक्तिको उपलब्धता पनि घट्नेछ । 

विकसित देशले यो अवस्था भोग्न थालिसकेका छन् । त्यसैले हाम्रा युवायुवतीलाई डाक्टर, नर्स, सेवक र ‘हेरालु’को रूपमा धमाधम लगिरहेका छन् । भोलिका दिनमा विश्वका अन्य देशबाट हामीले हेरालु मगाउन सकौँला त ? नेपालको मात्र होइन, विश्वकै जनसांख्यिक नक्सा बदलिएको छ । तसर्थ यो बदलिँदो अवस्थामा हाम्रासामु बहुआयामिक र बहुप्रभावी समस्याहरू आउनेछन् । यी समस्याप्रति हामी अहिलेदेखि नै चनाखो हुनुपर्नेछ । नयाँ पुस्तालाई चनाखो बनाउनुपर्नेछ । यथार्थ अवस्था र आगतको पनि जानकारी गराउन सकिएन भने अहिलेको वयस्क र वृद्धपुस्ता चुक्नेछ । ज्येष्ठ नागरिकलाई माया गर्ने, सम्मान गर्ने, आदर सत्कार गर्ने, राम्रो हेरचाह गर्ने छोराछोरी तथा नातिनातिना पुस्ता कसरी बढाउने ? यो अहिलेको सर्वव्यापी चिन्ता र चासो हो । 

नेपालमा वि.सं. २०५७–२०५८ मा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो बृहत् सहभागीमूलक अनुसन्धान (राष्ट्रिय सञ्जाल संस्था ‘नेपान’मार्फत्) सम्पन्न भएपश्चात् र क्रमशः ज्येष्ठ नागरिकहरू पनि संगठित हुँदै जान थालेपश्चात् यहाँका नीति, कार्ययोजना, ऐन, नियम, संस्थागत संरचना, सामाजिक भत्ता वितरणका अभियानहरू क्रमशः ज्येष्ठ नागरिकमैत्री बन्दै आएको सन्दर्भ हामीले बिर्सनु हुँदैन ।

‘साठी वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिनेछ’ भनेर नेपालमा कानुनी हिसाबले पहिलोपल्ट २०६३ सालको ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन’ले भनेको हो । त्यस ऐनमा टेकेर २०६५ सालमा पहिलोपटक ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली’ बन्यो । ज्येष्ठ नागरिक महासंघ नै बन्यो । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’ बनायो । समग्रमा हेर्दा ज्येष्ठ नागरिकका सवालमा नेपालले राम्रो प्रगति गरेको छ । तर, पनि यस विषयसम्बद्ध आउँदा चुनौतीहरू अझ जटिल बन्ने निश्चित भएको हुँदा हाम्रा पहलकदमी पनि थप सशक्त, क्रियाशील र कार्यान्वयनमुखी बन्नु जरुरी देखिएको छ । 

सम्मानयुक्त बुढ्यौली उमेरको सुनिश्चितताका लागि विद्यालय तथा कलेज तहको पाठ्यक्रमदेखि वडा, पालिका, प्रदेश तथा संघसम्मका सोच, योजना, कार्यक्रम तथा बजेट व्यवस्था ज्येष्ठ नागरिकमुखी, समन्वयात्मक एवं एकीकृत बन्नु अनिवार्य छ । त्यतिले मात्र पुग्दैन, हाम्रा प्रयास संयुक्त राष्ट्रसंघ एवम् हेल्पएज इन्टरनेसनलजस्ता ज्येष्ठ नागरिक मामिला हेर्ने संस्थाहरूसँग पनि समायोजित र समन्वित हुनु अपरिहार्य छ । विश्वव्यापी प्रयासविना ज्येष्ठ नागरिकका साझा सवाल सम्बोधन गर्न पनि कठिन हुनेछ । विश्वभरको सिकाइ आदानप्रदान हुँदा नै हाम्रा कार्य र प्रयास चुस्त र परिष्कृत हुन सक्नेछन् ।

हो हाम्रा रणनीति, कार्ययोजना, ऐन, नियमावली राम्रा छन् तर हाम्रो समस्या कार्यान्वयनको हो । संस्था खोल्न हतारिन्छौँ, संस्थागत विकास र सुशासन अभिवृद्धिमा कम चासो हुन्छ हाम्रो । सुशासन र भ्रष्टाचाररहित नारा खुब फलाक्छौँ  तर पदमा पुगेपछि आफैँ त्यस्ता कार्यमा उद्धत भएका हुन्छौँ । नेतृत्वका लागि हानथाप गर्छौं तर विजयी भएर त्यहाँ पुगेपछि बाचा, कबोल र प्रतिबद्धता भुसुक्कै बिर्सने गरेको देखिन्छ । कार्यसमिति र बोर्डमा रहेका साथीहरूलाई समेत मिलाउन सक्दैनौँ । हेर्दाहेर्दै कार्यावधि वा पदावधि समाप्त हुन्छ दोष अरूलाई नै थोपरेर उम्कन खोज्छौँ । यो हाम्रो नियति बनेको छ । नवपुस्ताले यी सत्य बुझेर अघि बढ्नुपर्छ । उदाहरणीय कार्य अहिलेको युवापुस्ताले देखाउन सक्यो भने भोलिको नेपाल राम्रो बन्नेछ । वास्तवमा जेन-जीपुस्ताको अपेक्षा पनि यही हो । आजका युवा नै भोलिका ज्येष्ठ नागरिक भएकोले अबको संसार कस्तो बनाउने भन्ने पनि तिनकै हातमा छ । 

निष्कर्षमा, 
विश्वले नै यतिबेला ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०२५ को सन्दर्भ पारेर ज्येष्ठ नागरिकका विषयमा थप केन्द्रित हुने प्रतिबद्धता प्रकट गरिरहेको छ । यो वर्षको विश्व नारामा ’ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने सन्देश झल्किएको छ । यही नारालाई नेपालमुखी बनाउन सरकारले थप परिस्कृत गरी ’हाम्रा ज्येष्ठ नागरिकहरूको चाहना समृद्धि र अधिकार : स्थानीयदेखि विश्वव्यापी पहलीकरण’ भनेर घोषणा गरेको छ । यी नाराको सार्थकता तब हुनेछ जब वर्तमान बालबालिका, किशोरकिशोरी, नवयुवा, युवा, वयस्क तथा स्वयम् वृद्धावस्थामा रहेका व्यक्तिहरूले मनैदेखि आफ्नो समाजलाई सम्मानित, समृद्धियुक्त र सन्तुष्टिमय ज्येष्ठ उमेर बिताउने समय र परिवेश सिर्जना गर्छौँ ।

ज्येष्ठ नागरिकहरू स्वयं पनि ‘म अब बूढो भएँ, अब बसीबसी खाने हो’ भन्ने भावना त्यागेर ’मैले अझै पनि आफ्नो तर्फबाट केही गर्न सक्छु, हात बाँधेर बस्दा मेरो शरीर झन् बिग्रन्छ, म अझ अशक्त बन्दै जान्छु, तसर्थ हरदिन सक्रिय बन्ने प्रयत्न गर्छु’ भनेर बाचामा उत्रिनु जरुरी छ । सबै नेपाली ज्येष्ठ नागरिकले एकपटक डा. गौरीशंकर लालदास, सत्यमोहन जोशी, माधव घिमिरे, भैरव रिसाल, अंगुरबाबा जोशी, अम्बिका श्रेष्ठ, प्रा.डा. वासुदेव त्रिपाठी, बैरागी काइँला, मदनदास श्रेष्ठ आदिका जीवन र कार्य हेर्ने र सम्झने गरेमा अझ सक्रिय बन्ने जाँगर चल्नेछ । तन बूढो भए पनि मन बूढो नबनाए समाज अझ सक्रिय बन्दै जानेछ । सक्रिय बन्न सिकौँ, सम्मान गर्न सिकौँ, अनि आफैँ पनि सम्मानित र सन्तुष्ट होऊँ । आजको दिनको मूल सन्देश यही हो । भवतु सब्ब मंगलम् । 

(ज्येष्ठ नागरिकका विषयमा अनुसन्धाता तथा अधिकार प्रवर्धन अभियन्ता)

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्