म काठमाडौं बस्न थालेको १०–१२ वर्ष भयो । यस अवधिमा मलाई घरको सबैभन्दा बढी सम्झना हुने चाडबाडको बेलाको हो । पढाइ र कामको क्रममा सबै चाडबाडमा सहभागी हुन सकिँदैन । त्यसकारण काठमाडौंमा बस्ने मजस्ता लाखौँ गैररैथाने नेपालीको लागि दसैँतिहारको बिदाले धेरै नै महत्त्व राख्छ ।
काठमाडौं महानगर 'कस्मोपोलिटन' ठाउँ हो, जहाँ नेपालको कुनाकुनाबाट मान्छेहरू पढाइ वा रोजगारीका लागि आइबसेका छन् । यहाँ सबै वर्ग र समुदायको बसोबास छ । हरेक चाडपर्वमा घर जान सम्भव नहुने भएकोले आआफ्नो संस्कृति अनुसारको चाडपर्व सक्ने जतिले यतै मनाउने गर्छन् ।
हुन त चाडपर्व एउटै हो । तर, नेपालको विभिन्न ठाउँमा फरकफरक शैलीमा मनाइन्छ । जस्तै; पहाडको दसैँमा विजया दशमीको टीकाको महत्त्व छ, तराईमा दुर्गा पूजाको महत्त्व छ । पहाडमा भाइटीका मनाइन्छ, तराईमा भरद्वितीया मनाइन्छ । ठाउँ र समुदायअनुसार फरकफरक शैलीमा मनाइए पनि यी चाडपर्वको मूल मर्म र महत्त्व भने समान रहेको छ ।
म आफैँ पनि तराईको बासिन्दा भएर होला मलाई चाडपर्वका बेलाको काठमाडौं खल्लोखल्लो लाग्छ । दसैँ र तिहारको बेला त म घर पुगेकै हुन्छ, तर अन्य चाडपर्वको बेला प्रायः काठमाडौंमै भइन्छ । घडी पवनी, जितिया, चौर्चणजस्ता एकदिने स्थानीय पर्वहरू भव्यताका साथ मनाइँदा आमाले छोराछोरी घर आइदिए हुन्थ्यो भनी आशा गर्नुहुन्छ तर कहाँ सम्भव हुन्छ र ?
साथै, अन्य मुख्य पर्वहरू जस्तै कृष्ण जन्माष्टमी, होली र सरस्वती पूजा जुन मौलिकता र हर्षोल्लासका साथ घरतिर मनाइन्छन्, काठमाडौंमा भने औपचारिकता निम्ति मनाइएजस्तो लाग्दा उत्साहमै फरक पर्दो रहेछ । हुन त नेपालमा चाडपर्वको बेला मानिसहरू परिवारसँग भेला हुन्छन्, तर दसैँमा त्यो अनुभूति नै भिन्न हुन्छ । किनभने अरू चाडपर्वमा समय निकाल्न सजिलो हुँदैन । दसैँमा भने सबै घर फर्किन्छन् । अनि सुरु हुन्छ उत्सव, भेटघाट, खानपिन, घुमघाम, रमाइलो, अनि मेलाको रमझम ।
मेरो विद्यार्थी जीवन महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमै बित्यो । त्यतिबेला दसैँदेखि छठसम्म एक महिना बिदा पाइन्थ्यो । कल्पना गर्नुस् त, महिना दिन स्कुल जानु पर्दैनथ्यो । बिहान उठ्यो, दसैँ बिदाको होमवर्क गरेपछि साँझसम्म खेलेर बस्यो । आहा ! सम्झिँदा पनि कति रमाइलो !
अहिले त कामकाज सुरु गरेपछि दसैँमा ५–६ दिन, तिहारमा पाँच दिन अनि छठमा त छुट्टी नै हुँदैन । यही तुलना गर्दा पनि लाग्छ दसैँ–तिहारको बिदा आफैँमा एउटा उत्सव थियो जुन घटस्थापनादेखि छठसम्म बिनाबाधा निरन्तर रहन्थ्यो । त्यो समय फर्केर त आउँदैन, तर प्रयास जहिले यही हुन्छ कि बढीभन्दा बढी समय घरमा बस्न पाइयोस् ।
तराईमा मनाइने दसैँको रमझम नै छुट्टै हुन्छ । यहाँ विजयादशमीको टीकाभन्दा पनि सप्तमीबाट सुरु हुने दुर्गा पूजा मेलाको ठूलो महत्त्व हुन्छ । तराईको दसैँमा पारिवारिक जमघटसँगै अन्य विशेषता रहेका छन्– मूर्ति पूजन, मेला, रावण वध र मूर्ति विसर्जन (भसान) ।
मूर्ति पूजन र मेला
दसैँ आउनु अघिदेखि नै तराईका सहरबजार जीवित कला ग्यालरीमा परिणत हुन्छन् । विभिन्न स्थानीय टोल, क्लब र समूहले चन्दा संकलन गरी दुर्गा पूजा समिति बनाउँछन् । लगभग १ महिना अगाडिदेखि नै सहरको मुख्य चोकहरूमा ठूलो पण्डाल निर्माण गरी सोभित्र दुर्गा माताको मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती, लक्ष्मी, आश्विनकुमारहरू लगायत अन्य देवीदेवताको मूर्ति तयार गर्ने कार्यको थालनी हुन्छ ।
प्रायः सबै चोकमा सानो वा ठूलो दुर्गा मूर्ति सजिएकै देखिन्छ । जसले पूरै सहरलाई उत्सवमय बनाइदिन्छ । चोकचोकमा सजाइएका मूर्तिहरू देवप्रतिमा मात्र होइनन्, ती त सामूहिक आस्थाका प्रतीक पनि हुन् । षष्ठीको दिनसम्म निर्माण र सजावटको कार्य जारी रहन्छ र राति १२ बजे सप्तमीको सुरुवातसँगै पण्डालको मुख्य द्वार खोलिन्छ । सबै देवी देवताको अनुहारबाट पर्दासमेत हटाइन्छ ।
सप्तमीका दिन दुर्गा माताको मुख उद्घाटन भएपछि सुरु हुने मेलामा धूपधुनी, भक्तिसंगीत र भिडभाडले पूरै सहरलाई उत्सवमय बनाइदिन्छ । सप्तमीसँगै मेला पनि सुरु हुन्छ र उक्त मेला विजया दशमीसम्म निरन्तर चलिरहन्छ । चार दिनसम्मको त्यो माहोल, भिड, भक्तिमय संगीतको धुन, परिवारसँग देवीको दर्शन र इष्टमित्रहरूसँग मेला घुमघामले साँचिकै वास्तविक पर्वको अनुभूति दिने गर्छ, जसलाई शब्दमा बाँध्न सजिलो छैन ।
तराईको दसैँको सबैभन्दा रमाइलो पक्ष नै मेला हो । बाल्यकाल सम्झिँदा, मेलामा जाने उत्साह नै छुट्टै हुन्थ्यो । मलाई सधैँ खेलौनाका पिस्तोल किन्न मन लाग्थ्यो तर हातमा परेको भने एकाध पटकमात्रै होला । चाहेको बेला नपाएको दुःखसमेत आज सम्झिँदा मिठै लाग्छ ।
साँझपख साथीहरूसँग भौतारिँदै हिँड्नु, भिडभाडमा हराउनु, अनि स्वतन्त्र भएर घुम्न पाउनु नै दसैँको वास्तविक रमाइलो थियो । विद्यालय जीवन सकिएपछि हामी सबै फरकफरक ठाउँमा छरिएर गयौँ, धेरैजसो काठमाडौंतिर । तर, दसैँ मात्र त्यस्तो समय हुन्थ्यो जब हामी सबै जलेश्वर फर्किन्थ्यौँ र एउटै ठाउँमा भेला हुन्थ्यौँ, जलेश्वरको गल्लीगल्ली चाहार्थ्यौं । अनि अन्ततः जलेश्वरनाथ महादेव मन्दिरमै भेला हुन्थ्यौँ जुन हाम्रो दोस्रो घरजस्तै थियो ।
सप्तमीको दिन सुरु हुने मेला दुर्गा पूजाको वास्तविक स्वरूप हो । त्यस दिनदेखि जलेश्वरका गल्लीगल्ली, चोकचौराहामा मानिसहरूको भिड लाग्छ, बत्तीहरू टल्किन्छन्, भजन–कीर्तन गुञ्जिन्छन् । तर, मेलाको चरम उत्साह भने अष्टमीमा आइपुग्छ ।
अष्टमीको दिन दुईवटा खास विधिहरू हुन्छन्– एकातिर पशुको बली चढाइन्छ, अर्कोतिर विवाहित महिलाहरू आआफ्नो परिवारको सुख, समृद्धि र मङ्गलकामनाका लागि 'खोइछा' भर्ने विधि पूरा गर्छन् । खोइछा भन्ने परम्परागत संस्कारमा सारीको पल्लू वा आँचलमा धान, चामल, जिरा, हल्दीको गाँठा, सिक्का, फूल र अन्य शुभ सामग्री राखेर माता दुर्गाको शरणमा भरण गरिन्छ ।
यसले चाडको आध्यात्मिक गहिराइमात्र होइन, आमाछोरीबीचको आत्मीय बन्धनलाई पनि झन् बलियो बनाउँछ । सानैदेखि हेर्दै आएको यो विधि मलाई अझै सम्झना हुन्छ– मन्दिरको आँगनमा महिलाहरूको रंगीचंगी सारी, हातभरि चुरा, ओठमा प्रार्थनाको शब्द, अनि आँखाभरि आशा ।
हालको तराईको दसैँ भने मेलामा मात्रै सीमित छैन । पछिल्ला वर्षहरूमा यहाँ टीकाजमरा चढाउने चलन पनि सुरु भएको छ । पहाडमा टीका जमराले विशेष महत्त्व राख्छ, तर तराईमा दसैँ अझै पनि दुर्गा पूजासँग नै पर्यायवाची छ । दुर्गा माताको मूर्तिसामु सामूहिक पूजन, भिडभाड र मेलामै यहाँको दसैँको आत्मा बस्छ ।
नवमी र दशमीका दिन पनि मेलाको रौनक घट्दैन । दशमीको साँझमा हुने रावण वध त सबैभन्दा प्रतीक्षित क्षण हो । हजारौँको भिडले एकैचोटि श्वास अड्काएर पर्खिने, अनि आगो सल्किएपछि हजारौँ आँखाले एकैपटक उज्यालो देख्ने त्यो दृश्य, आजसम्म मेरो स्मृतिमा ताजा छ ।
रावण वध
तराईको दसैँको अर्को उत्कर्ष रावण वध हो । दशमीको दिन, ठूलो मैदानमा बाँस, कागज र रंगीचंगी कपडाले सजाएर विशाल रावणको पुत्ला तयार गरिन्छ । साँझ पर्नासाथ हजारौँ मानिस भेला हुन्छन्– साना–ठूला, महिला–पुरुष सबै उत्साहित । त्यहाँ राम, सीता र लक्ष्मणहरू तयार गरिन्छन् र रामको हातबाट एउटा सांकेतिक तीर छोडिन्छ र घन्टौँको पर्खाइपछी जसैजसै रावणमा आगो लगाइन्छ, पूरै आकाश उज्यालो हुन्छ ।
रावणको पुत्लामा जडान गरिएका पटाखाहरूले गर्दा आतसबाजी चम्किन्छ र मानिसहरू उल्लासका साथ 'जय सियाराम' भन्दै खुसी बाँड्छन् । त्यो क्षणमा अधर्ममाथि धर्मको विजयलाई मात्र होइन, समुदायको सामूहिक हर्षोल्लासलाई पनि स्पष्ट महसुस गर्न सकिन्छ ।
मैथिल लोकसंस्कृतिका अध्येता एवं मिथिला माहात्म्यका नेपाली अनुवादक प्राध्यापक ध्रुव राय भन्नुहुन्छ– “मर्यादा पुरुषोत्तम श्रीरामले दशानन रावणमाथि विजय प्राप्त गरेको क्षणलाई मात्र होइन त्यो विजयले दिने दार्शनिक अर्थलाई पनि दसैँले स्मरण गराउँछ । रावणलाई दशानन भनिन्छ, दसवटा टाउको मानव जीवनका दस इन्द्रियका दास बनेको प्रतीक पनि हो । त्यसैले दशमीलाई ‘दसहरा’ भनिन्छ– दस इन्द्रियलाई जित्ने, अधर्मलाई हराउने पर्व ।”
उहाँले थप्नुहुन्छ, “यही कारण दसैँलाई 'बडादसैँ' पनि भनिन्छ, जसको मूल सन्देश हो– वर्जय दश इन्द्रिय अर्थात् आफ्ना इन्द्रियजन्य कमजोरी, लोभ, मोह, क्रोधलाई नियन्त्रण गर्दै जीवनलाई मर्यादित र अनुशासित बनाउने । त्यसैले यो पर्व देवासुरको युद्धको स्मरण होइन, आत्मसंयम, सदाचार र सत्यतर्फको यात्राको प्रतीक हो ।”
“त्यसकारण यस पावन महापर्वको अवसरमा, गुरुजन, अग्रज, मित्र र आफन्तप्रति शुभेच्छा व्यक्त गर्दा वास्तवमा हामी शब्दमात्र होइन, त्यो दार्शनिक भावलाई पनि बाँडिरहेका हुन्छौँ । जीवनमा रामले जस्तै सत्य र धर्मको बाटो समात्ने, रावण जस्तै अहंकार र दुष्प्रवृत्तिलाई जलाउने ।”
मूर्ति विसर्जन (भसान)
विजया दशमी सकिएपछि दसैँको अर्को विशेष तर भावुक क्षण मूर्ति विसर्जन हो । दस दिनसम्म चोकचौराहामा शोभायमान भएर सबैको आस्था बटुलेका दुर्गा माताका मूर्तिहरू अन्ततः विसर्जनका लागि निकालिन्छन् । मूर्तिहरूलाई ठूलो जुलुसमा ट्रकमा राखेर सहर घुमाइन्छ ताकि सबैले अन्तिम दर्शन गर्न सकून् ।
सडकभरि भिड, कान ठूला हुनेगरी बज्ने बाजागाजा, डीजेमा घन्किने भक्ति गीत र लोकधुन, रंग र अबिरले निथ्रुक्क भिजेका मानिसहरू, सबैले नाच्दै, गाउँदै, 'जय माता दी'को जय जयकार गुञ्जाउँदै मूर्तिलाई बिदा गर्छन् । त्यो क्षण साँच्चै उत्सवको पराकाष्ठा हो । तर, जब मूर्ति नदी वा पोखरीमा विसर्जन हुन्छ चर्को संगीत र रंगीन भिडबीच पनि मन कताकता खाली हुन्छ, आफ्नै आँगनको पाहुनालाई बिदा गरेकोजस्तो ।
सानैदेखि विसर्जनको जुलुसमा सहभागी हुने मेरो अनुभव अझै ताजा छ । ट्रक पछाडि दौडनु, साथीहरूसँग नाच्नु, अनि रात ढल्दै जाँदा चाड सकिएको उदासी अनुभव गर्नु । यही उल्लास र शून्यताको मिश्रणले तराईको दसैँलाई अझ अविस्मरणीय बनाउँछ ।
यसरी दुर्गा पूजा, मेला, रावण वध, नाचगान यी सबैको संगमले तराईको दसैँलाई धार्मिक पर्वमात्र नभई सामाजिक उत्सवको रूपमा स्थापित गर्छ, जहाँ भक्ति, कला, सामूहिकता र मनोरञ्जनको समिश्रण हुन्छ ।
तराईको दसैँ साँच्चिकै रमाइलो हुन्छ । किनभने यहाँ पर्व पूजापाठ वा धार्मिक अनुष्ठानमा सीमित हुँदैन, यो सामूहिकतासँग जोडिन्छ । परिवार, आफन्त र साथीभाइसँग पुनर्मिलन, चोकचौराहामा सजाइएका मूर्तिहरू, गुञ्जिने भजनकीर्तन, मेलाको भिडभाड, रंग र उज्यालोमा भरिएको साँझ, यी सबै कुराले दसैँलाई बहुआयामिक बनाउँछ । यसमा भक्ति छ, मनोरञ्जन छ, संस्कार छ र एक किसिमको सामूहिक अपनत्व छ । जसले हरेकलाई आफू त्यो परिवेशको अंश बनेको अनुभूति गराउँछ ।
अन्ततः तराईको दसैँको रमाइलोपन यसको उत्सवमय स्वरूपमा मात्र नभई, त्यसले दिलाउने सम्झनामा छ । बाल्यकालको मेलाको लालसा, साथीहरूसँगको उन्मुक्त घुमघाम र विसर्जनको भावुक क्षणसम्म यी सबै अनुभवहरू जीवनभर मनमा बस्ने खालका छन् । यही कारण, दसैँलाई जब जब सम्झन्छौँ हामी पूजापाठमात्र सम्झदैनौँ, हामी पारिवारिक भेटघाट, सामूहिक रमाइलो, साझेदारी र बाल्यकालको निश्चिन्त क्षणलाई सम्झन्छौँ । यही मिश्रणले तराईको दसैँलाई साँच्चिकै अद्वितीय र अविस्मरणीय बनाउँछ ।