“हजुरको घर कता पर्यो ?” बाटोमा हिँड्दा हिँड्दै अकस्मात् आएको प्रश्नले म रोकिएँ ।
“मेरो घर यतै पर्छ ।” सरल जवाफ दिएँ ।
“त्यसो भए त यता सबैलाई चिन्नुहुन्छ होला ?” उनले भने ।
“सबैलाई त कसरी चिन्नु र, तर पनि सोध्नु न कसलाई चिन्नुपर्ने हो ?” मैले जवाफमा भने ।
“म मेरो घर खोज्दै आएको !” उनको बोलीले म आश्चर्यमा परेँ । एक मन त बिहानको हिँडाइमा कस्तो दिमाग फुस्केको मान्छेसँग भेट भयो भन्ने लाग्यो ।
“हजुरको घर कहाँ हो र ?” सोधेँ ।
“कुन घर भनौँ ! मैले घर भारतको मणिपुरमा छ भनेको तर त्यो मेरो रहेनछ, यहाँ मेरो बराजुको घर हेर्न आएको ।” उनको आँखा हल्का रसिलो देखिन्थ्यो । परेलीको बाँध बलियो रहेछ, बग्न पाएन ।
“खासमा के भएको हो र मणिपुरमा ?” मलाई उत्सुकता भयो ।
उनले मेइतेई र कुकी जातीबीचमा भएको दंगाको बारेमा भन्न लागे ।
“नेपालीलाई के फरक पर्छ र ?” मेरो सोधाइ ।
“बीचमा हामी पर्छौं, जसले पनि लखेट्न सक्छन् ।” उनले भने ।
हामीले कुरा गर्दै गर्दा मेरो छोराको फोन आयो । ऊ खुसी देखिन्थ्यो ।
“बाबा, मैले घर किनेँ नि !” उसले भन्यो ।
“बधाई छ ।” मैले औपचारिकता निभाएँ ।
तर, मेरो मनमा भने एउटा प्रश्न खेल्न थाल्यो । मणिपुर, आसाममा जस्तै दंगा भयो भने उसका सन्तान अमेरिकाबाट बराजुको घर खोज्दै आऊलान् कि नआऊलान् !
(पोखरा)