काठमाडौं । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । १२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए ।
नेपालले १०.४ ओभरमा कुशल मल्ललाई गुमाएको थियो । नेपालले १२.४ ओभरमा कप्तान पौडेललाई गुमाएको थियो ।
नेपालको खातामा गुल्सन झाले १६ बलमा दुई छक्कासहित २२ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । सन्दीप जोराले नौ रन थपे । करण केसी ‘गोल्डेन डक’ भए । सोमपाल कामी र नन्दन यादव क्रमशः ६ र सात रनमा अविजित रहे ।
स्कोरबोर्डमा १२ रन जोड्दा नेपालले दुवै ओपनरलाई गुमाएको थियो । नेपालले २.१ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफले तीन रन मात्र बनाए ।
वेस्ट इन्डिजका अनुभवी अलराउन्डर जासन होल्डरले सर्वाधिक चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन बिडाइसीले तीन विकेट लिए । कप्तान अकिल हुसैनका नाममा एक विकेट रह्यो ।
नेपाली टिमले टेस्ट राष्ट्रविरुद्ध खेलिरहेको यो पहिलो टी–२० शृंखला हो । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सोमबार दोस्रो र मंगलबार तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।