site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलाशययुक्त दूधकोसी आयोजनाका लागि युरोपेलीसंघसँग कुलमानले मागे सहयोग

काठमाडौं । ६७० मेगावाटको दूधकोसी जलविद्युत् आयोजनामा थप सहायता उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोसँगको भेटमा थप सहायता उपलब्ध गराउन आग्रह गरेका हुन् ।

युरोपेली संघबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेको बताए । 

घिसिङले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरे । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य सहयोग गर्न युरोपेली संघ सँधै तयार रहेको बताइन् । 

नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली संघका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवं दक्षता, ऊर्जा क्षेत्रमा थप सहायतालगायत विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले जेनजीको आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण भए पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानुनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत् बजार थप सुनिश्चित गर्नु रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्