काठमाडौं । स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पुनरागमन जित निकालेको छ । बिहीबार राति बार्सिलोनाले ओभिएडोलाई ३–१ ले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन एरिक गार्सिया, रोबर्ट लेवान्डोवस्की र रोनाल्ड अराउहोले गोल गरे । घरेलु टिम ओभिएडोका अल्बर्टो रेइनाले गोल गरेका थिए ।
३३औँ मिनेटमा रेइनाले गोल गरेसँगै ओभिएडोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५६औँ मिनेटमा गार्सियाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । लेवान्डोवस्कीले ७०औँ मिनेटमा गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनाएको थियो । निर्धारित समय सकिन दुई मिनेट बाँकी हुँदा अराउहोले गोल गरेसँगै बार्सिलोनाले ३–१ को जित निश्चित गरेको हो ।
जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ । ६ खेलबाट तीन अंकको ओभिएडो १८औँ स्थानमा छ ।