site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली पासपोर्टमा साउदी पुग्ने ‘रोहिंग्या शरणार्थी’, गिरोहले बंगलादेश–भारत हुँदै नेपाल ल्याएका थिए

काठमाडौं । नेपाली पासपोर्टमा खाडी राष्ट्र साउदी अरब पुग्ने दुई सय म्यानमारीमध्ये धेरैजसो रोहिंग्या शरणार्थी भएको पाइएको छ ।

परराष्ट्र मन्त्रालयले गरेको प्रारम्भिक अनुसन्धानबाट उक्त रहस्य खुलेको हो । “हामीले नेपाली पासपोर्टमा साउदी पुग्ने म्यानमारी नागरिकमध्ये जतिको पनि पासपोर्ट प्राप्त गरेका छौं, उनीहरूमध्ये धेरैजसो रोहिंग्या शरणार्थी रहेको खुलेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “उनीहरूले कसरी नेपाली नागरिकता प्राप्त गरे र पासपोर्ट बनाएर साउदी अरब पुगे भन्ने ठूलो रहस्य छ । यसमा ठूलै गिरोह संलग्न रहेको देखिन्छ ।”

रोहिंग्या म्यानमारको राखिन राज्यमा बसोबास गर्ने मुस्लिम समुदाय हुन् । म्यानमारको सैनिक शासकले रोहिंग्यामाथि दमन गरेपछि उनीहरू भागेर बंगलादेश गई शरणार्थी बनेका थिए ।

सन् २०१७ मा रोहिंग्यामाथि नरसंहार गर्नुअघि १४ लाखमध्ये सात लाखभन्दा बढी रोहिंग्या भागेर बंगलादेश प्रवेश गरेका थिए । रोहिंग्या आफूहरूलाई पश्चिम म्यानमारको आदिवासी मान्छन् ।

सन् १९४० को दशकदेखि रोहिंग्याले सशस्त्र विद्रोह गर्दै आएका थिए । यसैकारण म्यानमारको सेनाले सन् १९७८, १९९१–१९९२, २०१२, २०१५, र २०१६–२०१८ मा रोहिंग्यामाथि विशेष कारबाही अभियान चलाएको थियो । 

म्यानमारी सेनाको दमन सहन नसकेका रोहिंग्याहरू भागेर बंगलादेश प्रवेश गरेका थिए । उनीहरू त्यहाँ शरणार्थीको हैसियतमा बसोबास गर्दै आएका थिए । यिनैमध्ये केही रोहिंग्या शरणार्थीलाई गिरोहले भारत हुँदै नेपाल ल्याई साउदी पठाएको पाइएको हो ।

नेपाली पासपोर्टमा साउदी जाने म्यानमारीहरू सबै २०७२ मंसिर ८ गते अगावै त्यहाँ पुगेका थिए । किनभने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुसार, २०७२ मंसिर ८ गतेभन्दा पछाडि नेपाली हस्तलिखित पासपोर्ट प्रयोग गर्न पाइँदैनथ्यो ।

स्रोतका अनुसार, ठूलो संख्यामा म्यानमारीहरूले २०६७ मंसिर १० गतेअघि नेपाली पासपोर्ट लिएका थिए । किनभने नेपालले २०६७ मंसिर १० गतेबाट हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गरी मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो ।

“केही म्यानमारीहरू पासपोर्टमा फोटो परिवर्तन गरी नेपालीकै नाममा गएको देखिन्छ । केहीले भने नागरिकताकै आधारमा पासपोर्ट लिएको देखिन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “यस्तो काम गर्न सजिलो छैन । जिल्ला प्रशासन कार्यालयदेखि अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका कर्मचारी नमिली नेपाली पासपोर्टमा म्यामारीलाई साउदी पठाउन सम्भव हुँदैन ।” 

नेपाली पासपोर्टमा साउदी पुगेका धेरै म्यानमारीलाई त्यहाँको प्रशासनले नियन्त्रणमा लिइराखेको छ । यसबारे साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपछि परराष्ट्रले यसबारे अनुसन्धान गरिरहेको छ । 

साउदी सरकारले रियादस्थित नेपाली दूतावासलाई सुरुमा यसबारे जानकारी दिएको थियो । साउदीको अध्यागमनले भिसा समयभन्दा बढी बसेका (ओभर स्टे) ठूलो संख्यामा आप्रवासीलाई नियन्त्रणमा लिएको थियो, जसमा नेपाली पासपोर्टमा गएका म्यानमारी पनि थिए ।

साउदीस्थित नेपाली दूतावास स्रोतका अनुसार, साउदी अध्यागमनले ‘तपाईँहरूको नागरिक फिर्ता लैजानोस्’ भनी पत्र पठाएपछि बुझ्न जाँदा उनीहरू नेपाली नभएको खुलेको थियो । 

उनीहरू नेपाली नभएको खुलेपछि नेपाली दूतावासले ‘ट्राभल डकुमेन्ट’ दिन अस्वीकार गरेको थियो । तर, साउदी अध्यागमनले भने बारम्बार उनीहरूलाई नेपाल फर्काउन नेपाली दूतावासमा ताकेता गर्दै आएको छ । 

“हामीले साउदीस्थित हाम्रो दूतावासलाई म्यानमारीले प्रयोग गरेको नेपाली पासपोर्टको फोटोकपी पठाउन भनेका छौं । केही प्राप्त भएका छन्, केही आउने क्रममा छन् । सबै डकुमेन्ट आएपछि यसमा को को संलग्न छन् थाहा हुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

परराष्ट्र स्रोतका अनुसार, एक समय साउदीले आफ्नो देशमा प्रवेश गर्ने मुस्लिम धर्मावलम्बीलाई संरक्षण गर्ने नीति लिएको थियो । त्यही समयमा रोहिंग्या म्यानमारी नेपाली पासपोर्टमा त्यहाँ गएका थिए । 

सन् २०११ को अरब स्पिङ, सिरिया र यमनमा युद्ध चकिएपछि ठूलो संख्यामा मुस्लिम शरणार्थी साउदी आउन थालेका थिए । त्यो रोक्न साउदीले मुस्लिम धर्मावलम्वीलाई दिँदै आएको संरक्षण नीति हटाएको थियो । 

“नेपाली पासपोर्टमा साउदी गएका म्यानमारीमध्ये ९० प्रतिशतसँग नेपाली हस्तलिखित पासपोर्ट छ । बाँकी १० प्रतिशतसँग एमआरपी छ,” साउदीस्थित नेपाली दूतावास स्रोतले भन्यो । 

सुरक्षाका दृष्टिले हस्तलिखित राहदानी निकै कमजोर मानिन्छ । यसैकारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले २०७२ मंसिर ८ गतेसम्म हस्तलिखित पासपोर्ट प्रयोग गर्न पाउने घोषणा गरेको थियो । 

त्यसपछि नेपालले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, राहदानी विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु सरेको थियो ।

राहदानी विभागका अनुसार, जतिबेला नेपालले हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गर्यो । त्यतिबेला २०७२ मंसिर ८ गतेसम्म र त्योभन्दा माथि म्याद भएका २५ लाख हस्तलिखित राहदानी प्रयोगमा थिए । ती राहदानी एकै दिन (२०७२ मंसिर ८ गते) काम नलाग्ने भएका थिए ।

हस्तलिखित पासपोर्टमा सजिलै फोटो परिवर्तन गर्न सकिने हुँदा यस्ता पासपोर्टको दुरूपयोग त्यतिबेला व्यापक भएको थियो । हस्तलिखित पासपोर्टको दुरूपयोग बढेपछि २०६६ साउन महिनामा अध्यागमन विभागले झन्डै ८५ लाख रुपैयाँ खर्चेर राहदानी रिड गर्ने एउटा मेसिन (भिएससी–६०००) युरोपबाट ल्याएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा खटिएका कर्मचारीलाई कुनै पासपोर्टमाथि शंका लागे त्यही मेसिनबाट जाँच गर्थे । मेसिनबाट तस्बिर परिवर्तन गरेको, सूचना परिवर्तन गरेको सहजै थाहा पाउन सकिन्थ्यो ।

जाँचमा तस्बिर तथा सूचना परिवर्तन गरेको भेटिए विभागले पासपोर्ट दुरूपयोग गर्नेमाथि जाली पासपोर्ट प्रयोग गरेको आरोपमा कारबाही चलाउने गरेको थियो । 

अध्यागमन विभागको तथ्यांक अनुसार, सन् २०१२ मा नेपाली पासपोर्ट दुरूपयोग गरी विदेश जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४९८ जनालाई पक्राउ गरिएको थियो छ । यीमध्ये ४ सय ८१ जनामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइसकिएको छ । 

त्यतिबेला नेपाली पासपोर्ट दुरूपयोग गरेकामा पक्राउ पर्नेमा अधिकांश भारतीय र बंगलादेशी थिए । म्यानमारी नागरिक पक्राउ परेका थिएनन् । तर, त्यतिबेला नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारीहरूको पहिचान भएको हो, जो फर्केका थिएनन् ।

“सन् २०१५ तिर नै एक सय जति म्यानमारी नेपाली पासपोर्टमा साउदी गएको खुलेको थियो । यस विषयमा गृह मन्त्रालयसँग छलफल पनि गरिएको थियो । यो समस्या समाधान गर्न यूएनएचसीआरसँग सहयोग लिनेकी भन्ने पनि छलफल भएको थियो । तर पछि यो विषय गुपचुप राखियो र सेलाउँदै गयो । फेरि थप संख्यामा नेपाली पासपोर्टमा गएका म्यानमारी भेटिएपछि साउदीले दबाब दिँदा यो कुरा बाहिरिएको हो,” परराष्ट्र स्रोतले भन्यो । 

नेपालीहरू सबैभन्दा ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने देशमध्ये एक हो साउदी अरब । पछिल्ला वर्षमा युनाइटेड अरब इमिरेट्स (यूएई) पछि ठूलो संख्यामा नेपाली साउदी अरब जाने गरेको वैदेशिक रोजगा विभागको तथ्याङ्कले देखाउँछ । 

गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका ८ लाख ३९ हजार २६६ जना नेपालीमध्ये १ लाख ५२ हजार ५५७ जना साउदी अरब गएका थिए । आर्थिक वर्ष २०८०/८१ मा १ लाख ४१ हजार ५०२ जना नेपाली रोजगारी खोज्दै साउदी पुगेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्