काठमाडौं । लगातार दुई दिन उच्च अंकले बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार (असोज ८) भने २७.८९ अंकले घटेको छ । यस दिन लगानीकर्ताले नाफा बुक गर्न लागेपछि बजारमा त्यसको असर देखिएको हो ।
गत साताको बिहीबार तीनपटक नकारात्मक सर्किट लागेर १६० अंक घटेर बजार बन्द भएको थियो । तर, त्यसयता आइतबार र मंगलबार बजार उच्च अंकले बढेको थियो । आइतबार १११ अंकले बढेको बजार मंगलबार ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा बन्द भएको थियो ।
दुई दिनको उच्च वृद्धि लामो समय टिक्न सकेन । बुधबार (आज) नै परिसूचक १.०३ प्रतिशतले घटेर २६५४.३५ विन्दुमा झरेको छ ।
दसैँ नजिकिँदै गर्दा लगानीकर्ताले आफ्नो खातामा पैसा आउने समय गणना गरेर नै आज सेयर बेचेको अनुमान गरिएको छ । आजबाहेक अब दुई कारोबार दिन मात्र बाँकी छ । आज बेचेको सेयरको पैसा आगामी आइतबार खातामा आउने र त्यो पैसा दसैँमा लगानीकर्ताले खर्च गर्न सक्छन् । यस दिन चार अर्ब १२ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएका थियो ।
५३ कम्पनीको सेयर मूल्य बढेको छ । १९३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनी र सिटी होटेलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको ०.८५ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.०४ प्रतिशतले बढेको छ ।