site stats
बाह्रखरी :: Baahrakhari
खेल
भलिबल प्रशिक्षकको जिम्मेवारी छाड्दै जगदीश भट्ट, के हो कारण ?
फाइल तस्बिर ।

काठमाडौं । नेपालका भलिबल प्रशिक्षक जगदीश भट्टले नेपाल भलिबल संघ (एनभीए)सँगको सहकार्य छाड्ने घोषणा गरेका छन् ।

भट्टले बुधबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै भलिबल परिवारबाटै असहयोग भएका कारण आफूले संघसँगको जिम्मेवारी छाड्न लागेको बताएका छन् ।

उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय टिमले साग गेम्सअन्तर्गत महिला भबिलबलमा ऐतिहासिक रजत पदक जितेको थियो । उनकै प्रशिक्षणमा नेपाली महिला टिमले पहिलोपटक भारतविरुद्ध जित निकालेको थियो ।

भट्ट सामाजिक सञ्जालमा लेख्छन्–

विगत तीन दशकको यात्रापछि– मैले जे–जे गरेँ, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ । नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउनका लागि आफ्ना व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर यहाँसम्म ल्याइपुर्‍याउन जेजे गरेँ सबैमाझ  छर्लंग छ ।

अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु । यस यात्रामा साथ, सहयोग वा आलोचना गर्नु हुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।

पेसा र राष्ट्रका खातिर पटकपटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ । तर अब त्यो अवस्था रहेन । त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक (त्यो पनि जागिरमै रहेसम्म) मात्र संलग्न रहनेछु । अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनुभन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु । यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागीता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु ।

पटकपटक कठिन परिस्थिति पार गर्दै यहाँसम्म आइपुग्दा हरेक समयमा नेपाली भलिबल खेललाई परिणाममुखि बनाउनुका लागि खेपेको चुनौती कि मलाई नजिकबाट सहयोग गर्ने वा कि मलाई मात्रै थाहा छ। अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र पटकपटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ । त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब विश्राम लिने निर्णय लिएको छु । असन्तुष्ट प्राणीहरूको इच्छा पूरा गर्ने कोसिस गर्नुहोला मैले सकिनँ है । पारिवारिक दबाबले यो निर्णय लिएको हो । तर, भलिबल खेल मेरो आत्मा हो– यो सदैव मेरो जीवनसँग रहनेछ । जहाँ म खुसीका साथ आफ्ना अनुभव बाँड्न सक्छु, त्यहीँ म पुग्नेछु ।

धन्यवाद । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्