पोखरा । नियमित हुन्थ्यो भने पोखराको सूयदर्शन सहकारीको ठगी, सम्पत्ति शुुद्धीकरण र संगठित अपराधको मुद्दामा उच्च अदालत पोखरामा रवि लामिछानेको पेसी बिहीबार तोकिन्थ्यो । पछिल्ला चार हप्तायता त्यो नियमित थिएन ।
त्यहीमाथि जेनजी आन्दोलनमा भएको विध्वंसले त अदालत नै रहेनन् । धेरैले यो आगजनी नियोजित भएको आशंका गरेका छन् ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानले सुरुमा जिल्ला अदालतको तीन नम्बर फाँटमा आगजनी भएको बताएका छन् । यही फाँटमा रविको मुद्दाको मिसिल थियो । तारेख धाउन उनी यही फाँटमा आउँथे । तर, योसहित जिल्ला अदालतका सबै फाँट जलाइए । रविको मुद्दा उच्चमा पनि विचाराधीन थियो । उच्च पनि अछुतो रहेन ।
आगजनीकै दिन अधिवक्ता सुजाता सुवेदीले लेखेकी छन् । “सन्दर्भ उच्च अदालत पोखरा । साँच्चै जेनजीले त्यही कोठा मात्रै चिनेको थियोे होला जुनमा सूर्यदर्शन सहकारीको फाइल थियो । के जेनजीले त्यही दराज चिनेको थियो जहाँ रवि लामिछाने समेतका मुद्दाका फाइलहरू थिए । जेनजी पक्कै पनि आक्रोशित थिए, तर जेनजीको चाहना त्यो थिएन, जहाँ थुप्रै कैदी निस्किउन, जेनजीको लक्ष्यमा रवि लामिछानेलाई निकाल्ने कुनै सर्त थिएन । त्यसैले यो सबै कसले र केका लागि गरे सबैजना जान्न चाहन्छन् । रवि लामिछानेको फाइल रहेको जिल्ला प्रहरी कार्यालय गैह्रापाटन जलाइयो, कास्की जिल्ल्ल अदालत जलाइयो, उच्च अदालत जलाइयो, जिल्ला र उच्च सरकारी वकिल कार्यालय जलाइयो । अब के रह्यो त बाँकी ? कतै यो रवि समर्थकका व्यक्तिद्वारा गरिएको निर्देशन त होइन ? आखिर यो सब के का लागि ?”
उनलेझैँ आशंका धेरैले गरेका छन । भनिएको छ, रविको मुद्दा जहाँ छ, ती अदालत जलाइएका छन् ।
सामाजिक सञ्जालमा देखिएका यी आशंकाका कारण आफूहरू अन्यायमा परिने डरले मंगलबार पोखरामा सूर्यदर्शन सहकारीपीडितले प्रदर्शन गरेका छन् ।
“न्यायलय तथा सुरक्षा निकायका साथै सार्वजनिक सेवामूलक संरचना र अन्य कार्यालयमा गरिएको तोडफोडको घोर भ्त्सना गर्छौं”, “सहकारीका कागजात र प्रमाणलाई केन्द्रविन्दु बनाएर छानीछानी गरिएको आगजनी र तोडफोडबाट भएको क्षतिको निष्पक्ष छानबिन गर ।”
पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष तथा पीडित बचतकर्ता संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले नियोजित रूपमा सहकारीका मिसिल रहेको फाँटमा आगजनी गरिएको बताए ।
मंगलबारको प्रदर्शन पनि त्यसकै विरोधमा गरिएको उनले जनाए । प्रदर्शनमा उनीहरूले वर्तमान सरकार राज्यकोषबाट पीडित बचतकर्ताको समस्या सम्बोधन गर्न माग राखेका छन् ।
उनीहरूले आफूविरुद्धका सहकारी मुद्दा कमजोर बनाउन र प्रमाण मेटाउन देशै जलाउनेलाई कारबाहीको माग समेत गरेका छन् ।