काठमाडौं । स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमती । मैदानको भूमिका मिडफिल्डर । यिनै बोनमतीले सोमबार राति फ्रान्सको पेरिसमा आयोजित विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित अवार्ड ‘बालन डी‘अर’ मा इतिहास लेखिन् ।
उमेरले २७ वर्ष पुगेकी बोनमती सोमबारको कार्यक्रममा फुटबल सिजन २०२४–२०२५ को सबैभन्दा उत्कृष्ट महिला खेलाडी चुनिइन् । तर, वर्षको उत्कृष्ट खेलाडी बन्नु बोनमतीको कीर्तिमान भने होइन । उनको कीर्तिमान हो, लगातार तीन वर्षसम्म बालन डी‘अर महिलातर्फ उत्कृष्ट खेलाडी चयन हुनु ।
उनी महिला फुटबलमा लगातार तीनपटक बालन डी‘अर जित्ने पहिलो फुटबलर हुन् । अनि हालसम्मको एकमात्र पनि । पुरुष फुटबलमा पनि एक खेलाडीमात्रै छन्, जसले लगातार तीनपटक बालन डी‘अर जिते । उनी हुन्, अर्जेन्टिनाका कप्तान लियोनल मेसी । उनले सन् २००९ देखि २०१२ सम्म लगातार चारपटक बालन डी‘अर जितेका थिए ।
“यो मेरो लगातार तेस्रोपटक हो । तर, म अझै यसमा विश्वास गर्न सकिरहेको छैन,” अवार्ड समारोहमा उत्कृष्ट महिला फुटबलर घोषित भएपछि बोनमतीले भनिन्, “यदि यो अवार्ड बाड्न मिल्ने हुन्थ्यो भने म मेरो सहकर्मीहरूसँग भाग लगाउँथे ।”
महिलातर्फको यो अवार्ड बोनमतीले स्पेनिस राष्ट्रिय टिमकै पूर्वसदस्य तथा बार्सिलोनाका पूर्वमिडफिल्डर आन्द्रेज इनियस्टाबाट पाएकी थिइन् । इनियस्टा त्यही व्यक्तित्व हुन्, जसलाई फुटबलको ‘आदर्श पात्र’ बनाउँदै बोनमती हुर्किइन् ।

“अझ इनियस्टाबाट यो अवार्ड पाउनुले झनै खुसी थपेको छ । जाभी हर्नान्डेजसँगै इनियस्टा मेरो बाल्यकालदेखिको आइडल हुन् । मैले यिनै व्यक्तित्वबाट फुटबलका धेरै कुराहरू सिक्न पाएँ । आज म उहाँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । म बार्सिलोनाप्रति पनि कृतज्ञ छु । यो मेरो जिवनको क्लब हो । आशा छ, यो लोगोलाई म धेरै वर्षसम्म प्रतिनिधित्व गरिरहने छु,” अवार्डपछि आफ्नो आइडल र क्लबलाई सम्झिँदै बोनमतीले भनिन् ।
बोनमती पाएको अवार्डलाई ‘बालन डी‘अर फेमिनिन’ भनिन्छ । जसको चयन खेलकुद पत्रकारहरूको मतका आधारमा हुने गर्दछ ।
अस्पतालको बेडदेखि वर्षको उत्कृष्ट खेलाडीसम्म
स्पेनको लागि युरो–२०२५ सेमीफाइनलमा जर्मनीविरुद्धको निर्णायक गोल गर्दै जित दिलाएपछि बोनमतीले भनिन्, खेलअघि केही हप्ताबारे, ‘एउटा पुस्तक नै लेख्न सक्थे ।’
प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि मात्र मेनिन्जाइटिसका कारण बोनमती अस्पतालमा रहनुपरेको थियो । जसले गर्दा उनको सहभागिता नै अनिश्चित देखिएको थियो ।
तर पनि, अस्पतालको ओछ्यानबाट फर्केर उनले दिएको चमत्कारिक प्रदर्शनले स्पेन महिला युरोको फाइनलसम्म पुर्यायो । तर, उपाधि जित्न भने सकेन । स्पेनले फाइनलमा पेनाल्टी सुटआउटमा इंग्ल्यान्डसँग हार बेहोर्यो ।
“यदि स्पेनले ठूलो खेल जित्ने हो भने त्यस्ता दबाबपूर्ण अवस्थामा बोनमती जस्तै खेलाडीले नै खेललाई नियन्त्रण गरेर गोल गर्ने गर्छिन्,” पूर्वइंग्ल्यान्डकी मिडफिल्डर फारा विलियम्सले बोनमतीको प्रशंसामा यसरी शब्द खर्चिइन् ।
विलियम्सको भनाइ ठीकै थियो– बोनमती सधैँ फरक पार्ने खेलाडी रहँदै आएकी छन् । त्यसैले नै उनलाई अभूतपूर्व तेस्रोपटक महिला बालन ड‘अर विजेता बनाएको हो ।
स्पेनले दुई वर्षअघि जितेको विश्वकपपछि अर्को ठूलो उपाधि थप्न नसके पनि बार्सिलोनाकी मिडफिल्डर बोनमतीका लागि त्यो अर्को सानदार सिजन रह्यो । उनले आफ्नै क्लबसँग घरेलु ‘ट्रेबल’ जितिन् र च्याम्पियन्स लिगको फाइनलसम्म पनि पुगिन् ।

२०२४–२५ को सिजन क्लब वा देशका लागि ठूला उपाधिबिना नै सकियो, तर उनी व्यक्तिगत रूपमा सफल रहिन् ।
लिगमा उनले बार्सिलोनाको लागि पुनः महत्त्वपूर्ण भूमिका खेलिन् । गत सिजन उनले १२ गोल गर्दा ६ असिस्ट गरिन् ।
बार्सिलोनाका निम्ति लिग पूर्णरूपमा सानदार नभए पनि क्लब दोस्रो स्थानको रियाल मड्रिडभन्दा आठ अंक अगाडि रह्यो ।
च्याम्पियन्स लिगमा उनले सानदार प्रदर्शन गरिन् । तर, फाइनलमा आर्सनलसँग पराजित हुँदा बार्सिलोनाले साविक विजेताको हैसियत कायम राख्न सकेन ।
यूईएफएले उनलाई प्रतियोगिताकी ‘प्लेयर अफ द सिजन’ घोषणा गर्यो । उनले ११ खेलमा नौ गोलमा योगदान गरिन् । सेमिफाइनलको दोस्रो लेगमा चेल्सीविरुद्धको ४–१ को जितमा गोल गरिन् । र, आफ्नो विश्वस्तरीय क्षमतालाई प्रष्ट पारिन् ।
युरोपियन च्याम्पियनसिपमा इतिहास
प्रतियोगिता सुरु हुनुअघिका केही दिनमै भाइरल मेनिन्जाइटिसबाट पीडित हुँदा यो बोनमतीका लागि उत्कृष्ट युरो बन्ने अनुमानसम्म थिएन । तर, फर्किएपछि उनले इतिहास बनाएर देखाइन् ।
मेनिन्जाइटिसका कारण लगभग प्रतियोगिता नै गुमाउने अवस्थामा पुगेकी बोनमतीले जर्मनीविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन् ।
“यस्तो खेलमा गोल गर्नु अति विशेष हुन्छ । यदि म टोलीलाई इतिहास बनाउन मद्दत गर्न सक्छु भने त्यो साँच्चिकै विशेष हो,” जर्मनीसँगको उक्त जितपछि उनले भनेकी थिइन् ।

बोनमातीको उपलब्धिहरू लामै छन् । उनले २०२३, २०२४ र २०२५ मा लगातार तीन पटक बालन ड‘अर जितिन् । २०२३ र २०२४ मा फिफा बेस्ट महिला खेलाडी उपाधि पनि जितिन् ।
उनी तीनपटक च्याम्पियन्स लिगकी ‘प्लेयर अफ द सिजन’ बनिन् र तीनपटकै प्रतियोगिताको उपाधिसमेत जितिन् ।
बार्सिलोनासँग उनले सातपटक लिग, तीनवटा युरोपियन च्याम्पिन्स लिग, नौ पटक कोपा डे ला रेनिया र पाँचवटा स्पेनिस सुपर कप जितेकी छन् ।
यिनै उपलब्धिले पनि देखाउँछ, ला मासियामा हुर्केकी उनी निःसन्देह महिला फुटबलमा सर्वकालीन महान्मध्येकी एक हुन् ।