site stats
बाह्रखरी :: Baahrakhari
देश
अपहरणपछि किशोरको हत्या, मागिएको थियो पाँच करोड फिरौती
प्रतीकात्मक तस्बिर ।

गोलबजार । सिरहाको गोलबजार नगरपालिका–१३, डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा मंगलबार (असोज ७) बिहान शव फेला परेको छ । आइतबार (असोज ५) राति अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि १०० मिटरपूर्व आँप बगैँचामा फेला परेको प्रहरीले जनाएको छ ।

आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घरनजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् । परिवारका सदस्यले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् ।

सोमबार (असोज ६) बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड रुपैयाँ फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका निम्ति निवेदन दिएको थियो ।

अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारका सदस्यले प्रहरीलाई सोमबार नै दिएका थिए । इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले भने, “घटनाबारे अनुसन्धान हुँदै छ । संलग्न पत्ता लगाई कानुनी दायरामा ल्याइनेछ ।”

घटनाको अनुसन्धानका निम्ति कुकुर ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्