काठमाडौं । बिमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिका बिमा दाबी तिहारसम्म भुक्तानी गरिसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानका लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भए पनि साना प्रकृतिका बिमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् ।
"असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ, यो सरकारी सम्पत्तिबाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशतमात्र बिमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तीनवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२/१३ प्रतिशतमा मात्र बिमाको दायरामा आएको रहेछ," उनले भने ।
वैद्यवारका अनुसार, अहिलेसम्म आन्दोलनका कारण दुई हजार ४७८ वटा बिमा दाबी आवेदन परेको छ । यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । योभन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौंलगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दाबी परेको उनले बताए ।
"अहिलेको क्षति हेर्दा योभन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो । नेपालका बिमा कम्पनीले भूकम्प तथा बाढीपहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बिमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडै नै रिकभरीका लागि सहयोग गर्थ्यौं," वैद्यवारले भने ।
उनका अनुसार, एक हजार ७०० दाबी साना प्रकृतिका छन् । "यी ४०–५० लाखदेखि दुई करोडसम्मका होलान् । अरू ठूलो प्रकृतिका छन्," उनले भने ।
उनले थपे, "साना दाबी हामी दीपावलीसम्ममा भुक्तानी गर्छौं । हामी सरल ढंगले दाबी भुक्तानी गर्छौं । हामीले यसको ड्राफ्ट प्राधिकरणमा पठाइसकेका छौँ । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, ब्लुबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एड्भान्स दिन्छौँ," उनले भने ।
वैद्यवारका अनुसार, बिमा कम्पनीले २२ अर्ब स्पेसल रिजर्भमार्फत कभर गर्नेछन् । "यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडि रिइन्स्योरेन्सको साथ छ," वैद्यवारले भने ।