काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग सोमबार (असोज ६) दिउँसोदेखि पुनः सञ्चालनमा ल्याइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी, इकुलगायत पाँच स्थानमा पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सुचारु गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीसहितको टोलीले स्थलगत अनुगमन गरी बाटो अवस्थाबारे जानकारी लिएको थियो ।
टोलीले पहिरोबाट बढी प्रभावित इकु क्षेत्रका बासिन्दासँग छलफल समेत गरेको थियो । बस्तीको जोखिम न्यूनीकरण र सडक दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक उपायबारे सुझाव आदानप्रदान गरिएको थियो ।
सडक पुनः सञ्चालनमा ल्याइएपछि व्यापारिक आवागमन खुलेको छ । चाडपर्वका बेला सामान आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ ।