site stats
बाह्रखरी :: Baahrakhari
देश
जलेका घरमा रंग नलगाउन र परीक्षण नगरी नबस्न अनुरोध
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘जेनजी’ (युवा विद्यार्थी) प्रदर्शनमा भएको क्षतिको विवरण निकाल्ने काम सुरु गरेको छ । 

प्राधिकरणले एक प्राविधिक समिति गठन गरी क्षतिको पूर्ण विवरण निकाल्ने काम सुरु गरेको हो । “हामीले ४५ दिनभित्र क्षतिको लेखाजोखा गरिसक्ने गरी कार्य अगाडि बढाएका छौँ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले बाह्रखरीसँग भने ।

जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा देशभर ठूलो भौतिक क्षति भएको छ । देशभर ६ सयभन्दा बढी सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी भएको गृह मन्त्रालयको प्रारम्भिक विवरणमा देखिएको छ । सरकारी कार्यालयका सयौँ सवारीसाधनमा तोडफोड र आगजनी भएको छ । 

जेनजी प्रदर्शनका क्रममा राजनीतिक दलका नेताहरूका घर र व्यापारिक भवनहरूमा पनि तोडफोड र आगजनी भएको छ । जेनजी प्रदर्शनमा के कति आर्थिक क्षति भएको छ त्यसको पूर्ण विवरण निकाल्न अहिले प्राधिकरणले कार्य सुरु गरेको हो ।

कार्यकारी प्रमुख भट्टका अनुसार, आगामी कात्तिक १९ गतेभित्र सम्पूर्ण क्षतिको विवरण तयार पारिने छ । 

“क्षति आकलनका लागि मानक प्रारुप (स्ट्यान्डर्ड फरम्याट) बनाउने काम सोमबार (असोज ६)बाट सुरु भएको छ,” उनले भने । 

सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्ने सम्बन्धमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा आइतबार बैठक बसेको थियो । 

बैठकले  क्षति आकलनका लागि मानक प्रारुप तयार गर्न, क्षतिको विवरण संकलनका लागि उपयुक्त र द्रुत माध्यमको निक्र्योल गर्न प्राधिकरणका प्राविधिक सहसचिव ई. अमृत श्रेष्ठको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको थियो । 

उक्त समितिमा राष्ट्रिय योजना आयोग, सहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्व विभागका प्रतिनिधि सदस्य रहेका छन् । त्यसैगरी, नेपाल इन्जिनियर्स एसोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालका एक–एक जना प्रतिनिधिहरु पनि समितिमा राखिएको छ । 

“समितिले पहिला मानक प्रारुप (स्ट्यान्डर्ड फरम्याट) बनाउने छ । त्यसपछि प्रदेश र स्थानीय तहमा रहेका इन्जिनियरहरूलाई आवश्कताअनुसार तालिम दिइने । तालिम दिने काम अनलाइनमार्फत दसैँ अगाडि नै गरिनेछ,” प्राधिकरणका कार्यकारी प्रमुख भट्टले भने, “दसैँपछि डेटा कलेक्सन गर्न सुरु हुन्छ ।”

संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका इन्जिनियरहरूले क्षति विवरण तयार पारेर पठाउने उनले जनाए । क्षति भएका भवन, गाडी, फर्निचर, अन्य उपकरण सम्पूर्णको विवरण तयारी पारिने छ । 

“भवन, गाडी लगायतका क्षति पुगेका उपकरण कति सालमा बनेका वा खरिद गरिएको थियो, अहिले त्यसको मूल्य कति पर्छ, आगजनी तथा तोडफोड हुँदा कति आर्थिक क्षति भयो भन्ने विवरण हुन्छ,” उनले भने । 

गत भदौ ३१ गते मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले क्षतिग्रस्त संरचनाहरूको ‘पोस्ट डिजास्टर निड एसेस्मेन्ट’ (पीडीएनए) को कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई आधार बनाएर क्षतिको विवरण तयार पार्ने काम अघि बढाइएको हो । 

प्राधिकरणमा आइतबार बसेको बैठकले क्षति भएका सरकारी र निजी भवनहरूमा प्रवेश गर्दा वा पुनः प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भएकोले प्राविधिक परीक्षण गरी सुरक्षित भएको सुनिश्चित भएमा मात्र प्रयोगमा ल्याउन सरोकारवालामा अनुरोध गर्ने निर्णय गरेको कार्यकारी प्रमुख भट्टले जनाए ।

साथै, बैठकले बढी क्षति भएका संरचनाहरूको ‘स्ट्रक्चरल इन्टिग्रिटी एसेसमेन्ट’ नगरी रंगरोगन लगायतका कार्यहरूसमेत नगर्न अनुरोध गर्ने निर्णय गरेको उनले बताए । 

“भित्ताको रंग आगोले कति जलेको छ, जल्दा रंग परिवर्तन भई कस्तो बनेको छ भन्ने आधारमा पनि क्षतिको मूल्यांकन हुन्छ । त्यसैले आगोले बढी नै क्षति गरेका घरमा जाँच नगरी रंग नलगाउन अनुरोध गरेका हौँ,” कार्यकारी प्रमुख भट्टले भने । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्