काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल–खावा) सडक विस्तार आयोजनाको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार (असोज ६) सडक अनुगमन गर्दै उनले चाडपर्वलाई ध्यानमा राखी सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिए । उनले आयोजनाका बाँकी विषयमा शीघ्र निर्णय, पर्याप्त जनशक्ति र उपकरण परिचालन तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सूर्यविनायक–साँगाखण्ड (८.३ किलोमिटर)मा ३९ प्रतिशत र साँगा–धुलिखेलखण्ड (७.५ किलोमिटर)मा ५१ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजनाको समग्र प्रगति ४५ प्रतिशत पुगेको छ । टेवा पर्खाल र नाली निर्माणको ८० प्रतिशत काम सकिएको छ । करिब एक किलोमिटर सडकमा कालोपत्र भइसकेको छ ।
मन्त्री घिसिङले बजेट अभाव हुन नदिन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार, आयोजनाका निम्ति चालु आर्थिक वर्षमा करिब तीन अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । हाल ५० करोड मात्र बजेट विनियोजन गरिएको छ ।