site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्खुबाट भागेका सन्तबहादुर श्रीमतीको हत्यालगत्तै पुनः फर्किएका थिए कारागार

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्यापश्चात् सन्तबहादुर तामाङ सिधै नक्खु कारागार फर्किएको खुलेको छ । श्रीमती मनीषा तामाङको हत्या गरी शव खाल्डोमा पुरेर उनी कारागार फर्किएका हुन् । हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए । उनी तीन वर्षअघि बलात्कार कसुरमा दोषी ठहर भएर कैद सजाय भोगिरहेका थिए । तर, जेलबाट भागेर घर पुगेका तामाङले श्रीमतीको हत्या गरेका हुन् ।

पनौती–१२ का वडाध्यक्ष जयराम केसीले असोज ३ गते बिहान तामाङले श्रीमती (मनीषा तामाङ)को हत्या गरेको खुलेको बताए । श्रीमान्–श्रीमतीबीचको आन्तरिक रिसइबीका क्रममा हत्या गरिएको प्रहरीले आशंका गरेको छ ।

हत्या गरेकै दिन तामाङ नक्खु कारागार फर्किएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनी कारागार फर्किएको खुलेपछि काभ्रे प्रहरीको टोली समेत नक्खु पुगेको छ । उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान गरिनेछ ।

तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् । जबरजस्ती करणी कसुरमा उनको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी रहेको कारागार स्रोतले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्