काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) पछि कतार र मलेसियाले नेपालीलाई दिँदै आएको भिसामा रोक लगाउने तयारी गरेका छन् ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य राष्ट्रले नेपालीलाई भिजिट र वर्किङ भिसामा रोक लगाउँदा यसले नेपाल र नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको छ ।
“यूएईले गत साताबाट नेपालीलाई भिजिट भिसा र वर्किङ भिसा दिन रोकेको छ । कतार र मलेसियाले पनि यूएईले जस्तैगरी नेपालीलाई भिजिट भिसा र वर्किङ भिसा रोक्ने तयार गरिरहेको सूचना हामीले पाएका छौं,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।
दक्षिण कोरियाले पनि नेपालीलाई दिँदै आएको ई–७ भिसा रोकेको छ । नेपाली दक्ष कामदारलाई ई–७ भिसामा कोरियाले लैजादै आएको थियो ।
नेपालीलाई भिसा दिन रोकेका र रोक्ने तयारी गरिरहेका देशले त्यसो गर्नुपछाडि दुई वटा कारण रहेको स्पष्ट संकेत नेपाललाई दिएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दुई कारणमा पहिलो छ, ‘जेनजी आन्दोलनमा नेपालका कारागारबाट भागेका कैदीबन्दी ।’ दोस्रो कारण हो, ‘नेपालीमा देखिएको हिंसात्मक स्वभाव ।’
“कारागारबाट भागेका कैदी/बन्दीहरू आफ्नो देशमा आउलान् भन्ने ठूलो चिन्ता यूएई, कतार र मलेसिया सरकारलाई परेको छ । यस्ता अपराधकर्मीहरू आफ्नो देशमा प्रवेश गरे आफ्नो देशमा अपराध बढ्ने र अशान्ति हुने बुझाई उनीहरूको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
भदौ २३ र २४ गते देशभर भएको जेनजी प्रदर्शनमा १५ हजार कैदी/बन्दी कारागारबाट भागेका थिए । नेपालमा कारागारमा रहेका करिब २९ हजार कैदी/बन्दीमध्ये आधाभन्दा बढी जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका थिए । भागेको १२ दिन बितिसक्दा पनि हालसम्म अझै ९ हजार जति कैदी/बन्दी फर्केका छैनन् ।
“जेनजी आन्दोलनमा धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भयो, यसले विदेशीमा नेपालीको स्वभावै हिंसात्मक हुन् भन्ने परेको छ । जसकारण पनि उनीहरूले नेपालीलाई दिने भिसामा कडाई गरेका छन् । यसले विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी पनि प्रभावित हुने देखिन्छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
गृह मन्त्रालय स्रोतका अनुसार, जेनजी प्रदर्शनमा एकै दिन देशभरका ६०५ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । यो प्रारम्भिक विवरण हो । यो संख्या अझै ठूलो छ ।
जेनजी प्रदर्शनमा तोडफोड र आगजनी गरिएकामध्ये २६३ वटा सरकारी कार्यालय पूर्ण ध्वस्त छन् । ३४२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । प्रदर्शनकारीको आक्रमणबाट देशभरका ८२ वटा प्रहरी कार्यालय पूर्ण क्षति र १२४ वटामा आंशिक क्षति भएका थिए ।
जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए । भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालयहरू, सर्वोच्च अदालत, संसद भवनलगायत सरकारी, निजी र व्यापारिक भवनहरूमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा पनि तोडफोड र आगजनी गरेका थिए । अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा पनि आगजनी गरिएको थियो ।
तोडफोड र आगजनीका घटना सबै भदौ २४ गते विहान १० बजेदेखि राति १० बजेसम्म १२ घण्टाको अवधिमा भएका थिए ।
“यति छोटो अवधिमा यति धेरै सरकारी कार्यालय, निजी तथा व्यापारिक भवन तोडफोड र आगजनी हुनु विश्वमा विरलै हुने घटना हुन् । यसले गर्दा नेपालीहरूमा हिंसात्मक स्वभाव रहेछ भन्ने सोच विदेशीमा पलाएको छ । त्यहीकारण उनीहरू भिसा रोक्नेसम्मको निर्णय गर्न पछि परेका छैनन्,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
यूएईले नेपालीलाई दिँदै आएको भिसा रोकिदिंदा यसको असर नेपाली क्रिकेटमा पनि परेको छ । वेस्ट इन्डिज्सँग क्रिकेट खेल्न युएई जान लागेको नेपाली राष्ट्रि क्रिकेट टिमलाई यूएईले आइतबार विहानसम्म भिसा दिएको छैन । युएईमा सेप्टेम्बर २७ देखि ३० सम्म नेपाल र टेस्ट राष्ट्र वेस्ट इन्डिज्बीच टि–२० सिरिज हुने तालिका छ ।
“क्रिकेट खेलाडीको पनि भिसा रोकिएको छ । हामी उनीहरूलाई भिसा उपलब्ध गराउन यूएईसँग अनुरोध गरेका छौं । खेलाडीसम्म भिसा दिन उनीहरू सकारात्मक देखिएका छन्,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
यदि यूएई, कतार र मलेसियाले नेपाली दिँदै आएको वर्किङ भिसा लामो समय रोके यसले नेपालको अर्थतन्त्रम ठूलो असर गर्ने देखिन्छ । किनभने सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने देशमा पर्छन यूएई, कतार र मलेसिया ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट कुल ८ लाख ३९ हजार २६६ जना वैदेशिक रोजगारी लागि विश्वका १५१ देश गएका थिए । तीमध्ये सबैभन्दा बढी यूएई गएका थिए ।
गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा २ लाख ७४ हजार ५९० जना यूएई, १ लाख ४० हजार ७९२ जना कतार र ४९ हजार १८७ जना मलेसिया गएका थिए । गत वर्ष यूएई, कतार र मलेसियामा मात्र ४ लाख ६४ हजार ५६९ जना नेपाली रोजगारी खोज्दै पुगेका थिए । यो भनेको कुल वैदेशिक रोजगारीमा जानेको ५५.३५ प्रतिशत संख्या हो ।
परराष्ट्र मन्त्रालयका अनुसार, यूएईमा हाल सात लाखभन्दा बढी नेपाली छन् । कतारमा चार लाखभन्दा बढी नेपाली कार्यरत छन् ।
“यदि लामो समय नेपाली कामदारलाई भिसा दिएनन् नेपाल भित्रने रोमिट्यान्समा ठूलो गिरावट आउने देखिन्छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
कारागारबाट भागेका कैदी/बन्दी फिर्ता भएपछि विदेशी राष्ट्रले विस्तारै नेपालीलाई दिने भिसामा गरिएको कडाई खुकुलो बनाउँदै जाने विश्वास परराष्ट्र मन्त्रालय स्रोतको छ ।
यद्यपि कुनै पनि राष्ट्रले औपचारिक रुपमा नेपालीलाई भिसा रोकेको जानकारी दिएका छैनन् । ‘‘उनीहरूले लामो समयका लागि यस्तो गर्न चाहेका छैनन्,’’ उनीहरूलाई मुख्यतः भागेका कैदीबन्दी आफनो देशमा आउलान् कि भन्ने डर छ,’’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘‘भागेका कैदी/बन्दी कारागारमा फर्किए वा नेपाल सकरार फर्काउन सक्षम भयो भन्ने सूचना पाएपछि उनीहरूले भिसामा गरेको कडाई खुकुलो गर्छन् भन्ने हाम्रो विश्वास छ ।”
