समयले जुटाएको चिटचिट
(नियात्रा : वियोगी बुढाथोकी)
कविता, गजल, मुक्तकमा ३० को दशकदेखि सक्रिय साहित्यकार कवि वियोगी बुढाथोकीको पछिल्लो नियात्राकृति हो, ‘समयले जुटाएको चिटचिट’ । उनले यसअघि चार नियात्राकृति ल्याइसकेका छन् । उनका कविता, गजल, मुक्तक गरेर १२ पुस्तक प्रकाशित छन् ।
नियात्राकृतिमा कृतिकार बुढाथोकीले लेखेका छन्, “जतिसुकै मौन बसे पनि समय हामीबाट घर्किन्छ । त्यसैले समयमै चाहेको कुरा गर्नुपर्ने रहेछ । स्वास्थ्य र समयले दिएसम्म केही गर्ने त हो । अतः समयकै कमाइ हुन यी सिर्जनाका पाटाहरू । ... ।”
यो कृतिभित्र विदेश भ्रमणका १५ नियात्रा समेटिएको छ । स्वदेश यात्राका चार सामग्री छन् ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १६८ पृष्ठको यो पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००
रेवतीरमण खनाल स्मृतिग्रन्थ
(स्मृतिग्रन्थ : सं. बद्री/सुरज खनाल)
नेपालको कानुनी क्षेत्रमा अनेक पुस्तक प्रकाशनमा ल्याएका सर्जक हुन्, रेवतीरमण खनाल । लामो समय राजप्रासाद सेवामा सचिवसम्मको भूमिकामा रहेका खनालको स्मृतिमा प्रकाशित ग्रन्थ हो, ‘रेवतीरमण खनाल : स्मृतिग्रन्थ’ । यसको सम्पादन बद्री खनाल र सुरज खनालले गरेका हुन् ।
ग्रन्थको प्रकाशकीयमा सरस्वती खनालले लेखेकी छन्, “...वहाँको व्यक्तित्व र कृतित्वको मूल्यांकन तटस्थ र निष्पक्ष दृष्टिबाट तेस्रो पक्षद्वारा कसरी गरिएको छ भन्ने तथ्यका बारेमा कम्तीमा पनि म र मेरो परिवारका सदस्यहरू परिचित थिएनौँ । त्यसकारण यो अन्य महानुभावहरूका आँखाबाट यथासम्भव परिपूर्ण रूपमा परिचित हुने वहाँको परिवारको इमानदार प्रयास एवं आन्तरिक आकांक्षा हो । ... ।”
यो स्मृतिग्रन्थमा रेवतीरमण खनालको जीवनी, जीवनका विभिन्न पक्षमाथि अनेक व्यक्तिहरूले लेखेका स्मृति आलेख छन् । भैरव रिसाल, वाचस्पति देवकोटा, सर्वेन्द्र खनाल, नवराज सुवेदी, झलनाथ खनाल, सूर्यनाथ उपाध्याय, जयराज आचार्यसहित पुस्तकभित्र ८३ जनाका स्मृति समावेश छ ।
सरस्वती खनालद्वारा प्रकाशित ५८८ पृष्ठको यो पुस्तकको मूल्य ६००/– रुपैयाँ राखिएको छ ।
०००
बीपी आत्मवृत्तान्तका कथा/अकथा
(संस्मरण : भुवन ढुङ्गाना)
नेपाली साहित्यमा भुवन ढुङ्गानाको आफ्नै पहिचान छ । विशेष गरी आख्यानमा कलम चलाउने ढुङ्गानाको केही समयअघि प्रकाशित संस्मरणात्मककृति हो, ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ ।
पुस्तकको ब्लर्बमा उल्लेख छ, “प्रस्तुत कृतिमा ढुङ्गानाले बीपी कोइरालाले आत्मवृत्तान्त र आफ्नो कथामा उल्लेख गरेका केही महत्त्वपूर्ण पात्रका परिचय र महत्त्वलाई स्थापित गरेकी छन् । यस पुस्तककी स्रष्टा ढुङ्गानाले नेपालको सात सालको जनक्रान्तिको सफलतामा यी सुपात्रहरूको योगदानको विवरण मात्रै प्रस्तुत गरेकी छैनन्, तत्कालीन नेपालको सामाजिक यथार्थलाई पनि सुस्पष्ट शब्दमा उतारेकी छन् ।”
यो पुस्तकमा कृतिकार ढुङ्गानाले लेखेका २१ संस्मरण समावेश छ ।
न्युरोड बुक स्टोरद्वारा प्रकाशित ११६ पृष्ठको यो पुस्तकको मूल्य ३४९/– रुपैयाँ राखिएको छ ।
०००
प्रणाम सगरमाथा
(नियात्रा : भवानी खतिवडा)
पछिल्लो समय नियात्रा लेखनमा निरन्तर कृति ल्याइरहेकी सर्जक हुन्, भवानी खतिवडा । उनको नयाँ नियात्राकृति ‘प्रणाम सगरमाथा’ केही समयअघि बजारमा ल्याइएको छ ।
कृतिकार भवानीले आफ्नो भनाइमा लेखेकी छन्, “... मैले जीवनको जुन मोडबाट हिमालको संगत गरेँ, त्यहाँदेखि मेरा स्वत्वले पनि मभित्रका निराशालाई आनन्दमय अनुभूतिमा रूपान्तरण गर्न सिकायो र अहिले आएर यही नै मेरो जीवनदर्शन बन्यो ।”
पुस्तकको ब्लर्बमा मोहन मैनालीले लेखेका छन्, “दुःखकष्ट गरेर, ज्यान दाउमा राखेर आफू हिँड्नुहुन्छ । घरमै बसेका हामी अल्छी पाठकलाई त्यस यात्राको आनन्द लिन सक्ने बनाउनुहुन्छ । यात्राको दुःखकष्ट जति आफू व्यहोर्नुहुन्छ, अनि हाम्रा भागमा सुखद अनुभूति मात्र पस्किदिनुहुन्छ । ... ।”
यो नियात्राकृतिमा अशेष मल्ल, इल्या भट्टराई, कृष्ण प्रसाईं, कृष्ण धरावासी, डा. गोविन्दप्रसाद शर्मा, महेश पौड्यालका मन्तव्य छन् ।
पुस्तकभित्र ३४ हिमाली नियात्रा समावेश छ ।
पेज टर्नरद्वारा प्रकाशित २७६ पृष्ठको यो कृतिको मूल्य ५९०/– रुपैयाँ राखिएको छ ।
०००
मलाई आर्यघाट लगेर नजलाउनू
(कविता : विजय हितान)
पछिल्लो समय पर्या साहित्यमा निरन्तर लागिरहेका सर्जक हुन्, विजय हितान । केही समयअघि प्रकाशित उनको कविताकृति हो, ‘मलाई आर्यघाट लगेर नजलाउनू’ । कवितासँगै कथा, निबन्धमा पनि कलम चलाउने हितानका केही कृति प्रकाशित छन् ।
लेखकीयमा हितानले लेखेका छन्, “धेरैअघि लन्डनबाट सुरु गरिएको वातावरण साहित्य गोष्ठी आज काठमाडौं आइपुगेको छ । आज हामी दशौँ वातावरण साहित्य गोष्ठी मनाउँदै छौँ । केही हदसम्म नेपाली साहित्यको केन्द्रमा पर्या साहित्यले आफ्नो अस्तित्व निर्माण गरेको यो दरिलो प्रमाण हो । ... ।”
हितानको यो कृतिभित्र ४१ पर्या कविता समावेश छ ।
इन्डिगो इंकद्वारा प्रकाशित १०८ पृष्ठको यो पुस्तकको मूल्य ३४९/– रुपैयाँ राखिएको छ ।
०००
लेखापरीक्षणको शल्यक्रिया
(लेखापरीक्षण इतिवृत्ति : डा. दामोदर पुडासैनी ‘किशोर’)
नेपाली साहित्यमा परिचित स्रष्टा हुन्, डा. दामोदर पुडासैनी ‘किशोर’ । उनका नियात्रालगायत थुप्रै कृति प्रकाशित छन् । ‘लेखापरीक्षणको शल्यक्रिया’ डा. दामोदरको २०औँ कृति हो, जुन केही समयअगाडि प्रकाशित भएको छ ।
लेखकीयमा उनले लेखेका छन्, “यस पुस्तकमा मैले लेखापरीक्षणलाई परम्परागत सीमाबाट बाहिर निकालेर सीमित कर्मचारीको हातमा मात्र लेखापरीक्षण नगुम्स्याएर आमजनता नै लेखापरीक्षक बन्ने र लेखापरीक्षणको फ्रिक्वेन्सी र समयमा सुधार ल्याउने नवीन विचारहरू समेत पस्केको छु ।”
कृतिको भूमिकामा प्रा. डा. सञ्जयकुमार श्रेष्ठले लेखेका छन्, “...डा. पुडासैनीको यस पुस्तकमा प्राचीन लेखापरीक्षण पद्धति र विकासका अलावा लेखापरीक्षणको नवीन परिधिसम्म गहन ढंगबाट चर्चा गरिएको छ । त्यसैले पनि यो पुस्तकको महत्व दिनानुदिन बढ्दै जाने देखिन्छ ।”
पुस्तकमा प्रा. डा. सुधन पौडेल, प्रा. डा भोजराज अर्याल, डा. हरिदत्त पाण्डेय र केशवप्रसाद पराजुलीका मन्तव्य छन् ।
कृतिभित्र आर्थिक अनुशासन र लेखापरीक्षण, प्राचीन लेखापरीक्षण पद्धति, आधुनिक लेखापरीक्षण पद्धतिलगायत विभिन्न भागमा लेखापरीक्षणका इतिवृत्ति प्रस्तुत छ ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ४४४ पृष्ठको यो पुस्तकको मूल्य ७९० रुपैयाँ राखिएको छ ।
०००
काजी तुलाराम पाँडे
(परिचय : डा. कृष्णकुमार पाँडे काजी)
काजी कालु पाँडे नेपाली इतिहासमा दर्ज ऐतिहासिक व्यक्ति हुन् । उनको परिवारका आजको पुस्तामा पर्ने डा. कृष्णकुमार पाँडे काजीले छोटो परिचय भनेर ‘काजी तुलाराम पाँडे’ लघुपुस्तिका बजारमा ल्याएका छन् ।
पुस्तकका लेखकले लेखेका छन्, “उस बेला हामीले काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानको परिकल्पना गर्दा पनि यिनीहरूका इतिहास सही ढंगले केलाएर भावी पुस्तालाई गौरवान्दित पार्ने उद्देश्य लिएका हौँ । कूटनैतिक कार्य या युद्धमा वीरतापूर्वक लड्ने यी दुई भाइको देन बराबर रहेकोले ‘र’ अथवा ‘तथा’ले यिनीहरूलाई जोडेनौँ ।”
यस पुस्तिकाभित्र ‘राजा पिर्थि नारन शाह र पाँडेकाजीका सम्बन्ध’, ‘नामको पछाडि काजी, विश्वास गुमेकै हो त ?’, ‘काजीपाँडे खलकका महान योद्धा’, ‘काजी गणेश पाँडे’सहित ५३ शीर्षकमा विविध जानकारी लेखिएका छन् ।
विक्रम पाँडे काजीद्वारा प्रकाशित ९६ पृष्ठको यो पुस्तिकाको मूल्य राखिएको छैन ।