site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विश्व उडान भर्दै गरेका विनोद चौधरीलाई नेपालमै परेको अप्ठेरो

काठमाडौं । अमेरिकी पत्रिका फोब्र्सको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी संसारभरका धनीमध्ये १७६४ नम्बरमा सूचीकृत व्यवसायी हुन् । नेपाली व्यवसायी चौधरीले आफ्नो व्यापार व्यवसाय संसारभर पुर्‍याएका छन्, नेपालबाटै सुरू गरेर ।

नेपाली कम्पनीलाई बहुराष्ट्रिय बनाउने, नेपाली ब्रान्डलाई अन्तराष्ट्रियकरण र बहुराष्ट्रिय कम्पनीहरु नेपाल भित्र्याउने प्रमुख भूमिका खेल्ने नेपाली व्यवसायी हुन् चौधरी ।

व्यापार व्यवसायको समयमा नेपालमा भएका विभिन्न खालका आन्दोलन, माओवादी सशस्त्र संघर्षसहितका संघर्षको चेपुवामा पर्दै अघि बढेका चौधरीलाई भदौ २४ गते भएको जेनजी आन्दोलनको रापले पनि छाडेन ।

उनको निजी निवास, व्यापारिक भवन, शोरुममा आगजनी गरियो, तोडफोड र लुट मच्चाइयो ।

त्यसमध्येको एक हो सीजी इलेक्ट्रोनिक्स । काठमाडौंको सतुंगलमा रहेको यस कम्पनीबाट सीजीका जति पनि इलेक्ट्रिक सामग्री रहेका छन् त्यहीँ नै एसेम्बल गरिन्छ ।

CG-(25)-1758280831.jpg
 

त्यसबाहेक एलजीलगायतका विभिन्न ब्रान्डका विद्युतीय सामग्री पनि त्यहीँ नै एसेम्बल हुँदै आएको थियो । यही कम्पनीमा एसेम्बल गरेर देशका सबै ठाउँमा पठाइन्थ्यो ।  उक्त आक्रमण त्यसदिन आक्रमणकारीले पूर्णरुपमा नष्ट गरिदिए । जुन आक्रमण सुनियोजित देखिन्छ ।

पहिले आगो लागिहाल्यो भनेर निभाउनका लागि तयार पारिएको पानी ट्यांकी ध्वस्त पारियो, त्यहाँ रहेका सबै गाडीमा आगजनी गरियो । अनि कम्पनीमा रहेका सबै सामग्रीमा विस्तारै आगजनी हुँदै मूल भवननै खरानीमा परिणत भयो ।

चौधरी ग्रुपमाथिको आक्रमण यो पहिलो भने होइन । माओवादीको सशस्त्र संघर्षमा पनि सीजीमाथि बेला बेला यसैगरी आक्रमण भइरहने त्यहाँका एक उच्च अधिकारीको टिप्पणी छ ।

विनोद चौधरीले पनि आफ्नो आत्मकथामा २०६१ सालमा माओवादीले गरेको आक्रमणका बारेमा उल्लेख गरेका छन् । तर त्योभन्दा विध्वंशकारी तरिकाले यसपल्ट आक्रमण भयो । एक हिसाबले भन्ने हो भने यो बहुराष्ट्रिय कम्पनीमाथि नेपालभित्र भएको आक्रमण हो ।

CG-(16)-1758280829.jpg
 

त्यस स्टोरमा सीजीका सयौँ आइटम थिए । मल्टिब्रान्ड उत्पादनहरु थिए । सबै एकैछिनमा खरानी बनाइए ।

हो, यही व्यापार व्यवसायबाट हो चौधरी ग्रुपले राज्यलाई कर तिर्ने ! चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–८१ मामात्रै सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाखरुपैयाँ कर तिरेको थियो ।

सरकारको कुल राजश्वको यो १.९६ प्रतिशत योगदान हो ।  पछिल्लो पाँच वर्षको हिसाब हेर्ने हो भने चौधरी ग्रुपले ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । 

एक भेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भनेका थिए, “राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । हामीले यसलाई बढाउँदै लैजाने योजना बनाइरहेका छौँ ।”

CG-(4)-1758280826.jpg
 

सीजी इलेक्ट्रोनिक्समात्रै होइन । उनी बस्दै आइरहेको रविभवनस्थित निवासमा पनि त्यही समयमा आगजनी गरियो । चौधरी करिब ३५ वर्षदेखि सो ठाउँमा बस्दै आएका थिए ।

निवासका बारेमा चौधरीले लेखेका छन्– दाजुभाइ समयमै अलग्गिएर बस्यो भने माया प्रगाढ हुन्छ । नजिक बसेर टाढिनुभन्दा टाढा रहेर नजिकिनु राम्रो ।  म ठमेलको घर छोडेर रविभवन सर्नुको कारण यही हो ।”

आगजनी सुरु गर्दासम्म विनोद चौधरी निवासमै थिए । त्यसपछि उनी आन्दोलनकारीले नदेख्नेगरी बाहिरिएका थिए । काठमाडौंमात्रै होइन उनी नवलपरासीमा बस्दै आएको नयाँ घर पनि त्यही दिनमा जलाइयो ।

यी सबै काम भदौ २४ गते अपराह्न भएका थिए । त्यसबाहेक थापाथली, भाटभटेनीलगायतमा भएका शोरुममा पनि आगजनी गरिए । जहाँ विभिन्न दर्जन बढी ब्रान्डका गाडीहरु थिए ।

चौधरी ग्रुपका आगजनी गरिएका स्थानमा मात्रै करिब एक हजारजना रोजगारीमा थिए ।

यस अराजक घटनालाई सीजी समूह (चौधरी ग्रुप)को इतिहासमै सबैभन्दा पीडादायी क्षण भएको प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् । फेसबुकमा भावुक सन्देश लेख्दै उनले जवाफदेही र सुधारको मागसहितको युवा आन्दोलनलाई बाह्य शक्ति र अराजक समूहले हिंसा र तोडफोडतर्फ मोडिदिएको उल्लेख गरेका छन् ।

CG-(5)-1758280826.jpg
 

उनले लेखेका छन्, “शान्तिपूर्ण रूपमा राम्रो नेपाल बनाउन गरिएको आह्वान हिंसा, लुटपाट र विनाशमा परिणत भयो । व्यक्तिगत रूपमा लक्षित गरियो, घरमा आगजनी भयो, कारखाना तथा कार्यालयमा क्षति पु‍र्‍याइयो र शो रुमहरू लुटिए । दशकौँको परिश्रम, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भएको पीडा हामीले भोग्यौँ ।”

उनले अगाडि लेखेका छन्,“आगो र अराजकताबीच पनि हाम्रा नेतृत्ववर्ग, प्रबन्धक र कर्मचारीले आफ्नै सुरक्षाको पर्वाह नगरी सम्पत्तिहरू जोगाउन, ग्राहकलाई प्रतिबद्धता पूरा गर्न दिनरात खटिए । आगो सल्कँदा पनि हाम्रो टोली पराजित भएन ।” उनले  विनाशपछि पनि ग्राहकलाई निराश नबनाएको उल्लेख गर्दै भनेका छन्–  तपाईंहरूकै कारण आशा बाँकी छ ।”

उनले भवन जले, शोरुम जले, लुटिए तर पनि आफ्नो परिवारको एकतालाई कसैले भंग गर्न नसक्ने उल्लेख गर्दै भनेका भन्– हामी नेपालका सबैभन्दा ठूलो करदाता, एक प्रमुख रोजगारीदाता र राष्ट्र निर्माणमा समर्पित संस्था हौँ । भूकम्प, बाढी वा महामारीजस्ता संकटमा सधैं अग्रपंक्तिमा उभियौँ । यो जिम्मेवारी अहिले पनि त्यागिएको छैन । इतिहासले हाम्रो विनाशलाई होइन, त्यसपछि हामी कसरी अझ गौरवपूर्ण र एकतामा उदायौँ भन्ने कुरा सम्झनेछ ।”

बाह्रखरीसँगको एक अन्तर्वार्तामा विनोद चौधरीले भनेका थिए– व्यापारलाई, अर्थतन्त्रलाई राजनीतिक फेल भएपछि जनताको ध्यान मोड्नलाई मोहरा बनाउनु हुँदैन । युवालाई नै नकारात्मक सिकाइयो भने देशको भविष्य के होला ? 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्