काठमाडौं । वेस्ट इन्डिजविरुद्धको श्रृखंला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले वेस्ट इन्डिज जस्ता टेस्ट राष्ट्रसँग खेल्नु ठूलो अवसर रहेको बताउँदै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरे ।
“वेस्ट इन्डिज जस्ता टेस्ट राष्ट्रसँग श्रृखंला खेल्नु भनेको ठूलो अवसर हो, पछिल्लो समय क्रिकेट नेपालको लोकप्रिय खेल बनेको छ । देशभित्रका नभैकन विदेशमा रहेका नेपालीहरूको साथ पनि तपाईंहरूसँग छ । नेपालले राम्रो प्रदर्शन गर्छ भन्ने कुरामा विश्वास व्यक्त गर्दै सबैलाई शुभकामना व्यक्त गर्दछु,” घिसिङले भने । घिसिङले नेपालले हरेक वर्ष क्रिकेट विश्कपमा नेपालले स्थान बनाउनेमा पनि आशा व्यक्त गरे ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले आगामी विश्वकप छनोटको तयारी स्वरुप श्रृखंलाको आयोजना गरिएको जनाउँदै श्रृखंलाले खेलाडीहरूको प्रदर्शनमा सुधार आउने बताए । “श्रृखंलापछि नेपाली टोली ओमानमा विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटको तयारी होस् भनेर यो श्रृखंला आयोजना गरिएको हो । यो श्रृखंलाले विश्वकपमा पक्कै पनि खेलाडीहरूको प्रदर्शन सुधार्न सहयोग गर्नेछ,” सचिव खड्काले भने ।
कार्यक्रममा टोलीका कप्तान रोहित पौडेलले टोली सन्तुलित रहेको बताउँदै खेलाडीहरू श्रृखंलाको निम्ति उत्साहित रहेको बताए । “हामीले ब्यालेन्स टिम बनाएका छौँ । श्रृखंलाको निम्ति तयारी पनि पर्याप्त भएको छ । यो श्रृखंला सबैको खेलाडीहरूको निम्ति एक्सपोजर हो । खेलाडीहरू सबै आफ्नो प्रस्तुति दिन उत्साहित छन्,” कप्तान पौडेलले भने ।
कार्यक्रममा टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले टोलीले श्रृखंलालाई महत्त्वपूर्ण रूपमा लिएको बताए ।
“खेलाडीहरूको निम्ति यो एउटा ठूलो अवसर नै हो । यसमा खेल्ने हरेक खेलले धेरै महत्त्व राख्छ । त्यसैले यहीअनुसार तयारी गरेका छौँ,” सहायक प्रशिक्षक मल्लले भने ।
कीर्तिपुरको निर्माणधीन त्रिवि क्रिकेट मैदानमा आयोजित बिदाइ कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिमका प्रतिनिधिलगायत क्यानका पदाधिरीहरूको उपस्थिति रहेको थियो ।
‘युनिटी कप’ नाम दिएको यो प्रतियोगिता आगामी सेप्टेम्बर २६ देखि सुरु हुनेछ । श्रृखंलाका सबै खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रंगशालामा हुनेछ । जसअन्तर्गत नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेल खेल्ने छ । सेप्टेम्बर २९ मा दोस्रो खेल खेल्नेछ । सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।
टोलीका मुख्य प्रशिक्षक स्टुवर्ट लले कप्तान पौडेलको कप्तानीमा यसअघि नै १६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए । नेपाली क्रिकेटको इतिहासमा विश्वकप विजेतासँग हुन लागेको यो पहिलो टी–२० शृंखला समेत हो ।
यस्तो छ टोली :
रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (सहायक कप्तान), आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, शाहब आलम