काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका निम्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार (असोज २) गृहमन्त्री ओमप्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरी यस्तो आग्रह गरेको हो ।
ढकालले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिए । निजी क्षेत्रले जिल्ला–जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकामा सरकारले सुरक्षामा विशेष ध्यान दिन उनले आग्रह गरे ।
कतिपय उद्यमी, व्यवसायी प्रहरीका संरचना पुनर्निर्माणका निम्ति तयार रहेको उनले बताए । यसनिम्ति उद्योग वाणिज्य संघमार्पmत सहकार्यका निम्ति प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।
यस्तै, ‘जेनजी’को प्रदर्शनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि गरिएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाही गर्न अध्यक्ष ढकालले मन्त्री अर्यालसमक्ष आग्रह गरे ।
मुलुकको राजस्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रूपमा काम गर्न सक्ने वातावरण सिर्जनाका निम्ति सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको र ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको पनि उनले बताए ।
भेटमा गृहमन्त्री अर्यालले आमनागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको उल्लेख गरे ।
महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौँ व्यवसाय स्थापना प्रभावित, तोडफोड र आगजनीका कारण ठूलो आर्थिक क्षति भएको बताए । सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरूले आग्रह गरे ।
दोषीमाथि कारबाही नगरिए दण्डहीनताको अवस्था सिर्जना हुनेतर्फ उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराए । महासंघले हालैको घटनामा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।