काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा निम्ति कानुनी स्पष्टता जरुरी रहेको बताएका छन् । बिहीबार (असोज २) नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले कतिपय अवस्थामा कानुनी स्पष्टता नहुँदा काम गर्न समस्या भएको बताए ।
कानुनको भावानुसारको स्पष्टता हुनु जरुरी भएकामा उनले जोड दिए । “कानुनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ । विशेष गरी पत्रकारहरूले समाचार लेख्ने क्रममा कानुनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ,” उनले भने ।
आमनागरिकसँग अन्तरक्रिया गर्न पत्रकारिता महत्त्वपूर्ण माध्यम हुने उनले उल्लेख गरे । उनले सेजनसँगको सहकार्यका निम्ति केन्द्रीय बैंक तयार रहेको समेत बताए ।
‘जेनजी’को प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका निम्ति स्रोतको अभाव नहुने उनले बताए । “पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्त्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो,” उनले भने ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।
“प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ । त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशील हुन लामो समय लाग्दैन,” गर्भनर पौडेलले भने ।
उनले अर्थतन्त्रको विकासका निम्ति राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको औँल्याए । व्यवसायी जेगाउन अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेकामा उनले जोड दिए ।