काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले एटलान्टाविरुद्ध ४–० को सहज जित निकालेको छ ।
बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन मार्किन्होस, खविचा काभारत्स्खेलिया, नुनो मेन्डिस र गोन्कालो रामोसले गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा पनि दुई गोल थपेको हो ।
तेस्रो मिनेटमा मार्किन्होसको गोलमा पीएसजीले अग्रता बनाएको थियो । जसलाई ३९औँ मिनेटमा काभारारत्स्खेलियाले दोब्बर बनाए । ५१औँ मिनेटमा मेन्डिसले पीएसजीबाट तेस्रो गोल गरे ।
इन्जुरी समयमा रामोसले गोल थपेपछि पीएसजीले ४–० को सहज जित सुनिश्चित गरेको हो ।
बुधबारै भएको अर्को खेलमा लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा इन्जुरी समयमा भर्जिल भान डाइगले निर्णायक गोल गरेपछि लिभरपुलले महत्वपूर्ण तीन अंक पक्का गरेको हो । लिभरपुलले खेलको सुरुआती ६ मिनेटमै २–० को अग्रता बनाएको थियो । तर, मार्कोस लोरेन्टे पहिलो हाफको इन्जुरी समय र ८१औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए । इन्जुरी समयमा भान डाइगले गोल गर्दै लिभरपुललाई तीन अंक दिलएका हुन् ।