काठमाडौं । पर्सा वीरगन्जका २४ वर्षीय असहाव आलम ठकुराईको भदौ २४ गते बानेश्वरमा जेन–जीको प्रदर्शनको क्रममा मृत्यु भयो । उनको मृत्यु भएको दुई दिनसम्म पनि परिवारलाई थाहै थिएन ।
उनका काका मुन्ना बाबु ठकुराई काठमाडौंको गौशालामै बस्छन् । उनी मोटरसाइकल वर्कसपमा काम गर्छन् । असहाव भदौ २४ गते मंगलबार बेलुकासम्म घर नफर्किएपछि उनका काका मुन्ना बाबु ठकुराईले फोन लगाइरहे । तर उनको फोन उठेन । भोलिपल्ट बुधबार पनि असहाव घर नफर्केपछि उनले फोन लगाइ रहे फोन नै उठेन ।
काठमाडौंको प्रदर्शनबारे जानकार उनको मनमा शंका उब्जियो । अनि उनी अर्का एकजना साथी लिएर बानेश्वरको सिभिल हस्पिटलमा आए ।
उनले हस्पिटलमा आफ्ना भतिज कतै उपचाररत छन् कि भनेर खोजे तर भेटेनन् ।
अस्पताल प्रशासनले केहीलाई उपचारका लागि वीर र त्रिवि शिक्षण अस्पताल रेफर गरेको जानकारी गराएपछि उनी त्यहाँबाट सिधै वीर अस्पताल हानिए ।
तर उनले त्यहाँ पनि असहावलाई भेटेनन् । वीर अस्पतालले त्यहाँबाट पनि केहीलाई त्रिवि शिक्षण अस्पताल लगेको जानकारी गराएपछि उनी आफूसँग रहेका साथीसँगै त्रिवि शिक्षण अस्पताल हानिए ।
त्यहाँ पुगेर उनले सोधीखोजी गरेपछि शवगृहमा राखिएको शवमाथि उनको नजर दौडिरहँदा सुरूमै असहावको शवमा उनको नजर पुग्यो ।
अनि असहावको मृत्यु भइसकेको उनले बल्ल थाहा पाए ।
त्यसपछि मुन्नाले असहावका कतारमा रहेका बुबा अमरुद्धिन मिया ठकुराईलाई घटनाबारे जानकारी गराए । उनी त्यहाँबाट तुरुन्त नेपाल फर्कने प्रक्रियामा जुटे ।
असहावका बुबा २६ गते बिहीबार काठमाडौंमा ओर्लिए । अनि उनी भाइ मुन्नासँगै त्रिवि शिक्षण अस्पताल पुगे । त्रिविबाट उनले छोराको शव शुक्रबार पर्सा पुर्याए । शुक्रबारै उनको आफ्नै परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
असहावले दुई महिनाअघि मात्रै विवाह गरेका थिए । उनकी श्रीमती भारतको आधापूर बेल्डाबाकी हुन् । उनी अहिले २० वर्षकी मात्रै छन् ।
असहावका बुबा असरुद्धिनकाअनुसार असहाव काठमाडौंकै एक कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्थे । उनी त्यसरी प्रदर्शनमा सामेल होलान् भनेर परिवारका कसैले पनि आकलन गरेका थिएनन् ।
असहावको साथबाट मोटरसाइकलको लाइसेन्स, बिलबुक र चाबीसँगै उनले जोहो गरेका कतारी रियाल पनि भेटिएको छ । असहावको शव पहिचान गरेको उनका काका मुन्नाले आफ्नो घरको सदस्य गुमाए पनि अब देशमा भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए ।
बाह्रखरीसित उनले भने, “नेपालमा वर्गीकृत व्यवहार छ । गरिब, निमुखाले कुनै पनि सरकारी कार्यालयबाट छिटो सेवा लिने अवस्था छैन त्यसको अन्त्य हुनुपर्छ । अझै पनि सरकारबाट थप भ्रष्टाचार नहोस् । गरिब, दुःखी, निमुखाका लागि सरकारी कामकाज सहज बनोस् ।”
उनले थपे, “धनीको मात्र कुरा सुन्ने चलन छ । धनी गरिब भनेर सरकारी कामका लागि विभेद नहोस् ।”
असहावको परिवार अन्तिम संस्कार सकेर ‘डेथ सर्टिफिकेट’ बनाउन अस्पताल आइपुगेको थियो ।
असहावका बुबाले गम्भीर हुँदै भने, “मेरो छोरो त मरिहाल्यो । मेरो भन्नु केही छैन । मेरो घरमा आशाको दियो उही थियो । कतारमा महिनाको साढे दुई लाख तलब पाउने गरी काम पनि फिक्स भइसकेको थियो । दुई महिनामा असहाव कतार उड्नेवाला थियो ।”
