काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियमित कममा फर्किएका छन् । ओझा मंगलबार (भदौ ३१) साँझ ५ बजे प्राधिकरणमा हाजिर भएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका थिए । भदौ २३ गते सर्वाेच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी ओझालाई प्राधिकरणको अध्यक्षको रूपमा काम गर्न दिन बाटो खुला गरेको थियो ।
जेनजीको प्रदर्शनका कारण प्राधिकरण खुल्न नसक्दा आज कार्यालय पुगेको ओझाले बताए ।
ओझालाई बर्खास्त गरेर मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको रूपमा कामकाज गर्न जिम्मेवारी दिएको थियो ।
अर्थ मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त गर्न सातदिने सूचना जारी गरी आवेदन खुलाएको थियो । प्राधिकरणको अध्यक्ष हुन १४ जना इच्छुकले आवेदन समेत दिएका थिए । तर, ओझालाई सर्वाेच्चले काम गर्ने बाटो खुलाइदिएपछि नयाँ अध्यक्ष छनोट गर्ने प्रक्रिया रोकिएको छ ।