काठमाडौं । “सहिदको सपना पूरा होस्, सहिदको रगत खेर नजाओस्, वीर सहिद अमर रहुन्,” जेनजी प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा गुञ्जिएको आवाज हो यो ।
टिचिङ अस्पतालबाट महाराजगन्ज, धुम्बाराही, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा गर्दै मृतकहरूको अन्त्यष्टि गरिएको छ । परिवर्तनका लागि उनीहरूले गरेको योगदान खेर जान दिन नहुने भन्दै आवाज उठाइरहेका थिए ।
नेपाल प्रहरीका अनुसार, भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर र २४ गतेको तोडफोड र आगलागीबाट गरी ७३ जनाले ज्यान गुमाएका छन् ।
शवयात्रामा १० मध्ये ६ जनाको शव हेलिकोप्टरमार्फत काठमाडौं बाहिर लैजाने तयारी छ । यसअघि तीन प्रहरीसहित केही मृतकको अन्त्येष्टि गरिएको थियो ।
शवयात्रामा अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी थिए ।
दुवै मन्त्रीले मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानका साथ बिदाइ गरेका छन् ।
जेनजी प्रदर्शनपछि भदौ २७ गते शुक्रबार नेपालमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । कार्कीले तीन मन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार गरेकी छन् । त्यसपछि २९ गते मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै, मंगलबार सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झन्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको थियो ।
मृतकका परिवारलाई १५ लाख रुपैयाँ र काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको थियो ।
३९ शवको पोष्टमार्टम सकियो
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका ३९ मृतकको शव पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अस्पतालमा रहेका ४६ शवमध्ये ३९ को पोष्टमार्टम सकिएको हो ।
“हामीलाई प्राप्त भएको ४६ शवमध्ये ३९ को पोष्टमार्टम सकिएको छ । उहाँहरू सबैको शवयात्रा गरी अन्त्येष्टि गरिँदै छ,” उनले भने ।
सातजनाको शव पहिचान गर्नै मुस्किल
डा. चौधरीका अनुसार, सातजनाको शव पूर्णरूपमा जलेको अवस्थामा छन् । “सातवटा शव जलेको अवस्थामा छन् । ती शवको पहिचान गर्नै मुस्किल छ । डीएनए म्याच गराउनुपर्छ । प्रहरीको पत्र आउन बाँकी छ । पर्सिदेखि जलेका शवको पोष्टमार्टम सुरु गर्छौं,” उनले भने ।
चावहिलस्थित भाटभटेनीमा ६ जनाको शव जलेको अवस्थामा फेला परेको थियो । विराटनगरको भाटभटेनीलगायत विभिन्न ठाउँमा जलेको अवस्थामा शव फेला परेको थियो ।
प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा पुर्याउने क्रम जारी छ ।
प्रदर्शनका क्रममा तीन प्रहरीको पनि निधन भएको थियो । केही दिन पहिले तीनैजना प्रहरीको अन्त्येष्टि भइसकेको छ ।
काठमाडौंका विभिन्न अस्पताल (राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, एभरेष्ट अस्पताल, काठमाडौं मेडिकल कलेज) लगायतमा घाइतेहरूको उपचार जारी छ ।
सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । देशभर भएको लुटपाट, तोडफोड र आगजनीका कारण ठूलो भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, स्थानीय तहका भौतिक संरचनाहरूमा क्षति पुगेको छ । प्रहरीलगायत सरकारका विभिन्न निकायहरूले क्षतिको विवरण संकलन गर्न सुरु गरेका छन् ।
