बागलुङ । भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४, कालापैरा खोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
आइतबार (भदौ २९) दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग हालसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।
लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधन कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए । लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको उनको भनाइ छ ।
वर्षा हुनेबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रँदा यातायात सञ्चालन हुन नसक्ने उनले बताए । रासस