काठमाडौं । ‘जेनजी पुस्ता’ को यही भदौ २३ र २४ गतेको प्रदर्शनमा सञ्चारका लागि ‘डिस्कर्ड’ एप प्रयोग गरेको खुलेको छ । प्रदर्शनमा विभिन्न युवाहरूलाई उत्तेजित बनाउने काम ‘डिस्कर्ड’ एपमार्फत भएको हो ।
सोही एपमार्फत युवाहरू जोडिएर सामूहिक रूपमा देशको राजनीतिप्रति वितृष्णा फैलाउने खालका अभिव्यक्ति दिने तथा व्यक्तिकेन्द्रित घृणा फैलाउने काम भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका युवाहरूलाई कहाँको अवस्था के छ भन्ने सामूहिक रूपमै थाहा पाउन उक्त एपले सहयोग मिलेको प्रहरीको अनुमान छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले प्रदर्शनमा उत्रिएका ‘जेनजी’ समूहले डिस्कर्ड प्रयोग गरेको खुलेको बताए । प्रहरीसित भने यस्ता सामाजिक सञ्जाल मोनिटरिङ गर्ने कुनै प्रविधि छैन । विभिन्न सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याई दर्ताको प्रक्रियामा ल्याउन बन्द गरेपछि सरकारविरुद्ध जेनजी उल्टै सडकमा उर्लिएका हुन् ।
जेनजीको प्रदर्शनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । संसद्समेत विघटन भएर आगामी फागुन २१ मा अर्को चुनावको मिति तय भएको छ ।
के हो ‘डिस्कर्ड’ एप ?
डिस्कर्ड एप विशेषगरी गेमरहरूका निम्ति डिजाइन गरी बनाइएको अनलाइन एप्लिकेसन हो । जहाँ, लेखेर, बोलेर र भिडियोमा कुराकानी गर्न सकिन्छ । यो गेमप्लेको समयमा समन्वय र सञ्चारको लागि व्यापक रूपमा प्रयोग गरिन्छ ।
यसले प्रयोगकर्ताहरूका निम्ति उनीहरूको चाहनाअनुसार बुक क्लब, कोडिङ जस्ता अन्य लगावका कार्यक्रमहरू होस्ट गर्न सक्छन् ।
डिस्कर्ड ‘सर्भर’मा कुराकानी हुन्छ, जुन फेसबुक इन्स्ट्राग्रामका ‘ग्रुप’ जस्तै हुन्छ । यहीबाट जेनजीको प्रदर्शनपछि राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओली, त्यसपछि नेपालको प्रधानमन्त्री कसलाई बनाउने भन्ने छलफलसमेत भएको थियो । डिस्कर्ड एपमा करिब एक लाख युवाहरू सक्रिय रहेको अनुमान गरिएको छ ।
जहाँ करिब ५० प्रतिशतले शुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको भन्दै मत दिएका थिए । युवापुस्ताकै भावनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नै प्रधानमन्त्री नियुक्त गरेका थिए ।