काठमाडौं । उपत्यकाका तीन जिल्लाको कमान्ड हेर्ने रानीपोखरीको उपत्यका प्रहरी कार्यालय आइतबार बिहानदेखि सरसफाइ हुँदै थियो । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते आगो लगाइएको थियो । उक्त कार्यालय जलेर नष्ट भएको थियो ।
प्रदर्शनकारीले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको कमान्ड हेर्ने र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रमुख रहने कार्यालय जलाएर नष्ट गरेका थिए । यसरी नै तीन वटै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने मुख्य कार्यालय उपत्यका ट्राफिक कार्यालयसमेत जलाएका थिए ।
उपत्यका ट्राफिक कार्यालय प्रमुखमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बस्छन् । यी दुई ठूदा कार्यालयबाहेक प्रहरीको दोस्रो ठूलो कार्यालय उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसमेत जल्यो । अनुसन्धान कार्यालयका कमान्ड एसएसपीले सम्हाल्छन् ।
-1757913188.jpg)
यी कार्यालयबाहेक उपत्यका मातहतका अधिकांश प्रहरी वृत्त र प्रभाग, चौकी र बिट नष्ट गरिएका छन् । जेनजी समूहले प्रहरीको कार्यालयमात्रै जलाएनन् कि प्रहरी वृत्त महाराजगञ्ज भवनमा त आगो लगाएपछि दुईजना प्रहरीलाई कुटीकुटी विभत्स रुपमा हत्या गरेका थिए ।
प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरका एक प्रहरीलाई जिउँदै जलाएका थिए । प्रहरी वृत्त बानेश्वरका प्रहरीहरू भदौको उर्लदो बागमती नदीमा हाम फालेर जोगिएका थिए ।
नदीमा पसेका प्रहरीमाथि ढुंगामुडा प्रहार भयो । केहीलाई नदीभित्रै पसेर नाङ्गै बनाउँदै कुटपिट गरे । प्रहरीमाथि उपत्यकामै यस्तो प्रकृतिको निर्मम हमला भएको इतिहासमै पहिलो भएको प्रहरीहरू नै बताउँछन् ।
प्रहरी सहप्रवक्ता एसएसपी रमेश थापाका अनुसार, उपत्यका साना–ठूला कार्यालय गरी कम्तीमा पनि २ सय वटामा क्षति पुगेको छ । त्यसमध्ये केही पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयभित्र रहेका हतियार गोली तथा प्रहरीको युनिफर्मसमेत लुटेका छन् ।
प्रदर्शनकारीले प्रहरीका ड्रेस तथा हतियार लुट्दै सडकमा रमिता देखाएका थिए । उपत्यकाबाहेक देशभरका अधिकांश प्रहरी कार्यालय जलेका छन् । उपत्यकामै प्रहरीमाथि प्रदर्शनमा उत्रिएका जेनजी समूह अराजक बन्दा प्रहरी पुरै ‘डिफेन्सिभ’ अवस्थामा कसरी पुग्यो त ? जसमा दुई वटा कारण प्रमुख ठानिएको छ ।
एक : २३ गते नै चुकेको थियो सुरक्षा सयन्त्र
सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारविरुद्धको नारा लगाउँदै जेनजी समूह भदौ २३ गते आन्दोलनमा उत्रिएको थियो । माइतीघर मण्डलाबाट सुरु गर्ने अनुमति लिएको जेनजी समूहको प्रदर्शन नयाँबानेश्वरमा चारैदिशाबाट उत्रियो ।
तीनकुने, पुरानो बानेश्वर र माइतीघर मण्डलाबाट प्रदर्शन एकै ठाउँमा ओर्लियो । प्रदर्शनकारी जेनजी समूहको ठूलो भीड साढे १२ बजे भने संघीय संसद् भवन बानेश्वर अगाडि पुग्यो । नयाँबानेश्वरतर्फका सबै निषेधित क्षेत्र तोडेर जेनजी समूह बानेश्वर पुगेको थियो । प्रदर्शनमा उत्रिएका समूहले संसद् भवन प्रवेश गरी आगजनी गर्ने प्रयास थाले । त्यसपछि प्रहरीले बल प्रयोग गर्न आदेश दियो ।
-1757913188.jpg)
बल प्रयोगको सिलसिलामा सुरुमा लाठी चार्ज तथा अश्रुँग्यास प्रहार गरियो । तर, प्रहरीको सामान्य बल प्रयोगले हजारौँको संख्याका प्रदर्शनकारी रोकिएनन् । प्रहरीले फिल्डमा खटिएका प्रहरीलाई हवाई फायरको आदेश दियो । तर, प्रदर्शनकारी ‘ब्याक’ हुने अवस्थामा थिएन ।
सुरुमा प्रदर्शनकारीले संसद् भवनको पूर्वी गेटमा आगजनी गरे । फिल्डमा खटिएका प्रहरीलाई माथिल्लो च्यानलले गोली चलाउने आदेश दियो । त्यसो त, फिल्डमा खटिएका प्रहरी र सशस्त्र प्रहरीबीच तालमेलको अभाव देखिएको थियो ।
त्यसबाहेक जेनजीको प्रदर्शनमा सहभागी युवाहरूको संख्याबारे प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग पूर्णरुपमा चुकेको थियो । उनीहरूको आँकलनमा ४/५ हजारा युवाहरू शान्तिपूर्ण प्रदर्शन गरेर फर्किन्छन् भन्ने थियो ।
गुप्तचर, प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीले जेनजी समूहले गर्ने प्रदर्शनबारे आफूहरूको आन्तरिक विश्लेषणमै कमजोरी भएको बताए ।
तीनवटै सुरक्षा संगठनका उच्च अधिकारीले बाह्रखरीसितको कुराकानीमा भने, ‘‘जेनजी पुस्ताको प्रदर्शनबारे हाम्रो आन्तरिक सुरक्षा विश्लेषणमै चुक्यौँ । सुरक्षा संगठनबीचको समवन्य पनि कता–कता बिग्रियो । हामीहरूले बरु राजावादीको गरेको गएको चैत १५ को प्रदर्शनबारे बढी सुरक्षा जोखिम देखेर त्यही अनुसारको तयारी गर्यौँ । यसमा त्यतिसम्म होला भन्ने भएन ।’’
साढे १२ बजेदेखि अवस्था बिग्रिएपछि भने प्रहरीले गोली चलायो । प्रहरीको गोलीले प्रदर्शनमा उत्रिएका १९ जना युवा मारिए भने चार सय घाइते भए । प्रहरीतिर भने २३ गते कुनै पनि ठूलो क्षति भएन ।
दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन अनुसार बानेश्वरको चार किल्लामा लागु हुनेगरी कफ्र्युको आदेश जारी भयो । तर, कर्फ्यु आदेश लगत्तै नेपाली सेनाको टोलीसमेत बानेश्वर पुग्यो । साँझ अवस्था केही सामान्य बन्यो ।
-1757913186.jpg)
तर, प्रदर्शनबारे समीक्षा गर्न बसेको मन्त्रिपरिष्द बैंठकमा जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेको र त्यसको नैतिक जिम्मा लिने भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी समूहको प्रदर्शनबारे छानबिन आयोग गठन हुने र १५ दिनभित्र प्रतिवेदन पेस गर्ने नियर्ण गरेर मन्त्रिपरिषद् बैठक रोके ।
तर, शान्तिपूर्ण प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर ज्यान गुमाएपछि जेनजी पुस्ता मात्रै होइन, सरकारको दमनविरुद्ध अनेकथरिका समूह उत्रिए । जसको निशाना प्रहरी, निजी कम्पनी र सरकारी कार्यालयहरू परे ।
दुई : गृहमन्त्री नहुँदाको परिणाम
प्रदर्शनकै पहिलो दिन जेनजी युवामाथि प्रहरीको गोलीले ज्यान गएको घटनाले आक्रोेशित बनाएको थियो । २४ गतेको बिहान साढे आठ बजेदेखि चक्रपथभित्र लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गर्यो । तर, देशमा गृहमन्त्रीविहीनको अवस्था थियो ।
तर, प्रशासनको कफ्र्युको प्रवाह नगरी जेनजी पुस्तामात्रै होइन, युवाहरू बिहानै बानेश्वरमै पुगेर नाराबाजी गर्न थाले । करिब १० बजेदेखि भने काठमाडौंका टोलटोलबाट युवाहरू प्रदर्शनमा उत्रिए । संसद् भवनभित्र प्रदर्शनकारी छिरे । आगजनी गर्न थाले ।
अघिल्लो दिनमै प्रहरीको गोलीले युवाको मृत्युको आक्रोश तीब्र बेगको थियो । तर, २४ गते संसद्, भवन जल्दा पनि प्रहरी र सशस्त्र प्रहरी बलले रोक्न सकेन । फिल्डमा खटिएका सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण बाहिर गएको रिपोर्टिङ गरे ।
-1757913185.jpg)
१२ बजेपछि प्रदर्शन अझ उग्र भएर निस्कियो । संसद् भवन मात्रै होइन, प्रहरीका कार्यालयहरू निसानामा पर्न थाल्यो । तर, पनि प्रहरीले आफ्नै कार्यालयहरूमा आक्रामण भइरहँदा मूकदर्शक बन्यो ।
ज्यान जोगाउन भए/भरका हातहतियार तथा प्रहरीका लुगासमेत फुकाले भागे । केही प्रहरी अधिकारीका अनुसार, प्रहरीको माथिल्लो च्यानलबाट बरु आफ्नो ज्यान सुरक्षित गर्ने तर गोली नचलाउन निर्देशन भएपछि अवस्था बिग्रिएको हो ।
भागेर ज्यान जोगाएका एक प्रहरी अधिकारी भन्छन्, ‘‘प्रहरीकै यत्रो कार्यालयहरू जल्ने अवस्था आउनु हाम्रा लागि दुर्भाग्य हो । प्रहरी कार्यालयका गेटमै अराजकता हुँदा हामीले भित्रबाट हवाई फायरसमेत गर्न सकेनौँ । एआईजी बस्ने रानीपोखरी यसरी जल्दासमेत हेर्नुपर्यो । हतियार हुँदा हुँदै मर्नुपर्यो ।’’
एक उच्च प्रहरी अधिकारीका अनुसार, गृहमन्त्रीविहीन हुँदा प्रहरी र सशस्त्र प्रमुखले गोली चलाउन निर्देशन दिन सकेनन् ।
ती अधिकारी भन्छन्, ‘‘पहिलो दिनजस्तै दोस्रो दिनपनि मानवीय क्षति हुँदा त्यसको जिम्मा प्रधानमन्त्रीभन्दा सुरक्षा संगठन प्रमुखले लिनुपर्ने अवस्था थियो । भोलिका दिनमा जवाफदेहिता पनि उनीहरूकै हुन्थ्यो । यस्तो अवस्थामा उनीहरू ‘ब्याक’ हुनु अन्यथा पनि होइन ।’’
-1757913189.jpg)
सुरक्षाकर्मीले २४ गते भने पहिलो दिनभन्दा क्षति कम हुने रणनीति अपनाएको थियो । जसकारण संसद भवन, सिंहदबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरूसमेत जल्न पुगे । प्रहरीका एक पूर्वआईजीपीले मानवीय नोक्सानिभन्दा भौतिक नोक्सानीको मूल्य कम हुने भएकाले गोली नचलाउनु नै उपयुक्त हुने बताए ।
उनले भने, ‘‘प्रदर्शनका क्रममा सुरक्षाकर्मीले के गर्दा कम क्षति हुन्छ भनी विश्लेषण गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा जे कम हुन्छ त्यही गर्ने हो । आगजनी गर्न गएको भीड ठूलो देखिन्छ यस्तोमा गोली चलाउँदा मानवीय क्षति धेरै हुने जोखिम हुन्छ ।’’
त्यसबाहेक गृहमन्त्री नहुँदा सुरक्षा प्रमुखहरूले गृहमन्त्री जस्तो प्रधानमन्त्रीसित सिँधै रिपोटिङ गर्नसमेत समस्या हुने ती आइजीपीको भनाइ छ । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटको निवासदेखि प्रधामन्त्री निवास बालुवाटार समेत आगो लगाए ।
त्यसबाहेक पूर्वप्रधानमन्त्रीहरूका निवास जलाएका थिए । २४ गतेको प्रदर्शन अराजक बनेपछि सरकार मात्रै फेरिएको छैन कि संसद् विघटन भएको छ । प्रधानमन्त्री ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।
आगामी फागुन २१ मा संघीय सांसदका लागि नयाँ चुनाव मिति घोषणा भएको छ । प्रधानमन्त्री कार्कीले आजमात्रै कार्यभार सम्हालेका छन् ।
